Shittalpati
ज्ञानमाला संघको हीरक महोत्सव शुभारम्भ : मोवाइलको जस्तै बुद्धको आवश्यकता खड्कियो

रामचन्द्र रायमाझी
पाल्पा,थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरले मोवाइलको आवश्यकता जस्तै भगवान गौतम बुद्धको आवश्यकता खड्किएको बताएका छन् ।
शुक्रबार ज्ञानमाला संघ, आनन्द विहार पाल्पाको ७५ औं हीरक महोत्सव वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महास्थविरले यस्तो बताएका हुन् । उनले मानिसका लागि पछिल्लो समय मोवाइल अत्यावश्यक वस्तु भए जस्तै गौतम बुद्धको ज्ञान अहिलेको आवश्यकता रहेको बताए । देशमा हत्या, हिंसा, रिस, राग बढ्दै गएको प्रति संकेत गर्दै महास्थविरले वर्तमान अवस्थामा बुद्धको ज्ञान खड्किएको धारणा व्यक्त गरे । उनले गौतम बुद्धको ज्ञान र सन्देश लिएर सुख, शान्ति र आनन्दको जीवन जिउन सबैलाई आग्रह गरे । महास्थविरले शान्तिको खोजी गर्न असल कर्म गर्नुपर्ने बताए । ‘हामी शान्ति–शान्ति भनिरहेका छौं तर कर्म गरेका छैनौं,’ उनले भने । जसले जुन किसिमको कर्म गर्छ उसले त्यही अनुसारको प्रतिफल पाउने महास्थविरले बताए । उनले भने ‘मैले आफ्नो जीवन कसरी विताइरहेको छु भन्ने कुरा
मनन् गर्नुपर्छ, धर्म, पाप र धर्म पाप मिसावट ?’ जसरी जीवन बिताए पनि कर्मको फल सोही अनुसार प्राप्त हुने महास्थविरले बताए । कार्यक्रममा बौद्ध महिला सेवा समिति आनन्द विहारकी अध्यक्ष शोभा शाक्यले रिस, राग र मोहबाट मुक्त हुन गौतम बुद्धको सन्देश ग्रहण गर्नुपर्ने बताइन् । उनले शान्तिका लागि बुद्धले छोडेको उपदेश र सन्देश अहिलेको अवस्थामा अपरिहार्य रहेको भन्दै त्यसको अनुसरण गर्न सबैलाई आग्रह गरिन् । ज्ञानमाला सभा महाचैत्य विहारका अध्यक्ष बुद्धरत्न शाक्यले बुद्धको सन्देश फैलाउने काममा ज्ञानमाला सभाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ज्ञानमाला संघका अध्यक्ष उत्पल कुमार बज्राचार्यले संघका पूर्व अध्यक्षहरुको देनका कारण हीरक महोत्सव मनाउन पाइएको बताए । उनले भजनको संरक्षण, बुद्धको सन्देश फैलाउने र नेपाल भाषाको संरक्षण गर्ने दिशामा संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । संघले शुक्रबारदेखि हीरक महोत्सवका कार्यक्रमहरु शुभारम्भ गरेको हो । उसले वर्षभरी नै विविध कार्यक्रम गर्ने भएको छ । संघले विहिबार अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरलाई भव्य रुपमा स्वागत समेत गरेको थियो । तानसेन सडकमा टुल विच्छाएर धिमेबाजागाजा सहित भव्य स्वागत गरिएको हीरक महोत्सव प्रचारप्रसार समितिका संयोजक सुरेशमान बुद्धाचार्यले बताए । संघले हीरक महोत्सव शुभारम्भको दिन स्तम्भ अनावरण समेत गरेको छ । पश्चिम नेपालकै जेठो बौद्ध संस्थाको रुपमा रहेको संघले महोत्सव अवधिभर वृहत्त धार्मिक सभा गर्ने, बौद्ध दर्शनमार्फत शान्तिको सन्देश फैलाउन मूर्ति निर्माण गर्ने, बौद्ध धर्म सम्बन्धी फिल्म प्रदर्शन गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै आन्तरिक पर्यटनमा टेवा पु¥याउने खालका कार्यक्रम गर्ने, विद्यालयस्तरीय बौद्ध वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, स्मारिका प्रकाशन जस्ता कार्यक्रमहरु गर्ने भएको छ । हीरक महोत्सव शुभारम्भ कार्यक्रममा राष्ट्रिय, अन्तर्राष्ट्रिय भिक्षुहरुको समेत उपस्थिति रहेको थियो । संघका अध्यक्ष उत्पलकुमार बज्राचार्यको अध्यक्षता, सदस्यहरु अनुराधा शाक्य बज्राचार्य र अनुराधा शाक्य बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update