Shittalpati
तानसेनमा निकालियो गणेशको रथयात्रा

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार हर्सोल्लासका साथ निकालिएको छ । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजा सहित गणेशको रथ निकालेको हो । ऐतिहासिक भगवती जात्राको झल्को दिने गरी गणेशको रथ निकालियो थियो । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि–अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइएको थियो ।

परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने गरेको देखिन्थ्यो । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिएको गुठीले जनाएको छ । गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने गरिएको उनले बताए । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो । गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो । नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको गुठियार श्रेष्ठले बताए । गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राममा बस्नेहरूलाई सम्हयबजी बाँडिने भएपनि हिजोआज भगवान श्रीगणेशलाई बलि नचढाइने जानकारहरू बताउँछन् । गणेश जात्राका दिन बाघ जात्रा पर्ने गर्दछ । त्यसको भोलिपल्ट टक्सार टोल स्थित सूर्यविनायक गणेश जात्रा निकालिन्छ । अघिल्लो दिन जाग्राम बसीे भोलिपल्ट बाजागाजाका साथ गणेशको मूर्तिलाई खाटमा राखी बजार घुमाइन्छ । तानसेन बजार भित्र छ ठाउँमा गणेशका मन्दिरहरु रहेका छन् । टक्सार गणेश जात्राको भोलिपल्ट भिमसेन टोलबाट भिमसेन जात्रा निकालिन्छ । भिमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् । शितलपाटीमा पनि एउटा भिमसेन मन्दिर छ । यसको जात्रा भने माघ महिनामा भीमा द्धादशीको दिन निकालिन्छ ।

तानसेन बजार भित्र मात्रै छ बटा भिमसेन मन्दिरहरु रहेका छन् । भिमसेन नेवारहरुका कूल देवता हुन् । भाद्र कृष्ण अष्टमीको दिन राती हुलाक चोकमा अस्थायी कृष्ण मन्दिर बनाई कृष्ण लिला देखाइन्छ । भोलिपल्ट कृष्ण जात्रा निकालिन्छ । यो कृष्ण जात्रा स्थानीय कृष्ण भक्तहरुले करीव तीस वर्ष अघिदेखि मौलिक रुपमा बनाउन लागेको हो । कृष्णाष्टमीको दिन राती भगवती मन्दिरमा जाग्राम बसिन्छ । देवी भगवती र श्रीकृष्ण दिदी भई भएको पौराणिक कथन रहेको छ । भगवतीको मन्दिरमा जाग्राम बस्दा भजन गाइन्छ । मध्यराती साइत अनुसार विधिपूर्वक पूजा गरी भगवतीको प्रतिमूर्ति बाहिर ल्याई खटमा राखिन्छ । यहि क्रममा घण्टाकर्ण (गाँठेमंगल) को दिन जन्मेको लाखेलाई मध्यरातमा मारिन्छ । लाखे मार्नुको उद्देश्य दानव माथि देवीको जित हुनु र असत्य माथि सत्यको विजय हुनु हो । भोलिपल्ट अर्थात भाद्र कृष्ण नवमीको दिन राष्ट्रिय अदबका साथ भगवती जात्रा निकालिन्छ । भगवती जात्राको भोलिपल्ट नारायण जात्रा पर्दछ । नारायण जात्रा कुनै वर्ष भगवती जात्रा कै दिन पर्दछ । विशेषः गरी भाद्र कृष्ण नवमीमा रोहिणी नक्षत्र परेको दिन यो जात्रा निकालिन्छ । यसरी पाल्पाको तानसेनमा दश दिनसम्म लगातार जात्रा निकाल्ने गरिन्छ । इतिहास बोकेका पाल्पाका यि जात्राहरुको रौनक भने विस्तारै हराउँदै गएको छ । आधुनिकताका कारण पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घटेको हो  । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको पनि यसतर्फ खासै चासो दिएको देखिदैन । जात्राहरु धार्मिक, साँस्कृतिक र मनोरञ्जनसँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई यसतर्फ आर्कषित गर्न सकिएको छैन । जसले गर्दा पनि यहाँका जात्रा, पर्वहरु विस्तारै लोप हुन लागेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update