Shittalpati
विश्वकर्मा पूजा गरिदैं

पाल्पा, प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सिगारिएको छ । आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ ।
विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रको बीचमा ‘भेदद्वार’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचिन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । गाडी मर्मत सम्भार गर्ने ग्यारेज लगायत हरेक साना ठूला फ्याक्ट्रीमा सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update