Shittalpati
जमुना सनमको यात्रा : सञ्चारकर्मी, कलाकार हुँदै सांसद उम्मेदवारसम्म

रामचन्द्र रायमाझी
पाल्पा, लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो जमुना सनम । २०४३ चैत २३ गते अघाँखाचीको खनमा आमा छमकुमारी सुनार र बुवा पिताम्वर सुनारको सुपुत्रीका रुपमा जन्मिएकी सनमलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकी छन् । स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने सनम पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएकी छन् । दर्जानौं गीत निकालेर दर्शकहरुको मन मनमा बस्न सफल भएकी सनम अहिले भने फरक भूमिकामा देखिएकी छन् । सञ्चारकर्मीका रुपमा लामो अनुुभव सम्हाल्दै कलाकारिता क्षेत्रमा उदायकी सनम अहिले एकाएक खुला राजनीतिक क्षेत्रमा देखिएकी छन् । त्यसो त उनी २०६६ देखि नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरे पनि चर्चामा थिइनन् । आन्तरिक रुपमै संगठन निर्माणमा लागेकी उनी अहिले भने प्रत्यक्ष रुपमा राजनीतिमा देखिएकी हुन् । १५ वर्ष एमालेमा रहेर काम गरेकी उनी अहिले एमाले विभाजनपछि भने नेकपा एकिकृत समाजवादीमा छन् । अहिले उनी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बनेकी छन् । कलाकार र उत्पीडनमा परेका नागरिकहरुको उत्थानका लागि नेतृत्व तहमा पुग्न अहिले उनी चुनावी मैदानमा उत्रिएकी हुन् ।

अर्घाखाँचीबाट २०६३/०६४ मा बुटवल झरेकी उनले त्यहीबाटै सञ्चारकर्म सुरु गरेकी हुन् । पाल्पाको मुक्तिनाथ एफएमबाट सञ्चारकर्म सुरु गरेकी सनमले बुटवलमा रहेका जागरण मिडिया र बुद्ध टेलिभिजनमा समेत काम गरिन् । उनले बुटवलमा रहेर ६ वर्ष सञ्चारकर्मी भएर काम गरिन् । सानै उमेरमा लोक गीतमा रुची राख्ने सनम सञ्चारकर्ममै रहदादेखि नै गीत रेकर्डिङ गरिसकेकी थिइन् । उनको पहिलो तिज गीत अत्याधिक चर्चित बनेपछि उनलाई थप गीत निकाल्ने हुट्हुटी जाग्यो । तत्कालिन समयमा गीत रेकर्ड गर्नका लागि काठमाडौं जानुपथ्यो । उनलाई काठमाडौं आउ जाउ गर्न निकै कठिन भएपछि २०६६ वैशाख १४ गते काठमाडौं प्रवेश गरिन् । त्यहाँ रहेर अध्ययनसँगै लोक संगीत क्षेत्रलाई सनमले सँगसँगै अगाडि बढाईन् । उनले आफ्नै गीत रेकर्डिङ स्टुडियो समेत खोलेकी छन् । ३ हजार भन्दा बढी गीतहरु उनका स्टुडियोबाट रेकर्डिङ भइसकेका छन् । सनम संगीत क्षेत्रमा मात्र होइन राजनीतिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बन्न थालिन् । २०६६ मा नेकपा एमालेको पार्टी सदस्यता लिएकी सनम पार्टीमा विभिन्न तह र तप्कामा रहेर नेतृत्वदायी भूमिका समेत खेलिसकेकी छन् । २०६६ देखि २०७१ सम्म अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चको सदस्य भएकी उनी अहिले उपत्यका जिल्ला विशेष समितिको उपाध्यक्ष, केन्द्रीय परिषद्को सदस्य र लोकदोहोरी प्रतिष्ठानको उपत्यका समन्वय समितिको वरिष्ठ उपाध्यक्ष समेत हुन् । अहिले उनी समाजवादीबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनेकी हुन् । ‘समाज र राष्ट्र परिवर्तनका लागि थुप्रै गीतहरु गाइयो तर समाज र देश परिवर्तन हुन सकेन, अझै पनि दुरदराजका जनताको अवस्था उस्तै छ, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन नसकेपछि म सक्रिय राजनीतिमा आएकी हुँ’ सनमले भनिन् । उनले आफु नेतृत्व तहमा पुगेर समाज र राष्ट्र समृद्धका लागि केही गर्ने अठोटका साथ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताईन् ।

सञ्चारकर्मी, कलाकारिता अनि सामाजिक सेवाको बाटो हुँदै खुल्ला राजनीतिक मुलधारमा प्रवेश गरेकी सनमले उत्पीडनमा परेका श्रमिक वर्ग र कलाकारहरुको हितमा काम गर्ने बताइन् । उनले विदेशीने नेपाली श्रमिक वर्गलाई स्वदेशमै रोजगार सिर्जना गर्ने संकल्प गरेको बताईन् । सनमले भनिन् ‘म निर्वाचित भएपछि कम्तीमा श्रमिक वर्गहरुलाई दैनिक एक हजार कमाउन सक्ने वातावरण सिर्जना गरी विदेश जानबाट रोक्ने भिजन मसँग छ, त्यो गर्नेछु ।’ हजारौं युवाहरु खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै सनमले ति युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्ने आफ्नो मुख्य उद्देश्य रहेकाले त्यो अवस्थामा पुर्‍याउनका लागि एक पटक आफुुलाई मतदान गर्न पनि आममतदाताहरुलाई आग्रह गरिन् । उनले कलकारको राष्ट्रिय पहिचान नभएकोमा दुःख व्यक्त गर्दै आफु निर्वाचित भएपछि कलाकारको पहिचान र सुरक्षाका लागि पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । सनमले भनिन् ‘चलचित्रको चलचित्र बोर्ड छ तर लोकदोहीको कुनै पहिचान नै छैन् । त्यसका लागि म संसद्मा पुगेपछि पहल गर्छु ।’ उनले कलाकारको सम्मानका लागि ५० वर्ष उमेर पुगेपछि ५ हजार भत्ताको व्यवस्था मिलाउन पहल गर्ने समेत बताईन् । ‘सामाजिक विकास, परिवर्तन र रुपान्तरणका लागि मेरो यो पाइला अगाडि बढेको छ’ उनले भनिन् ‘राजनीति विशुद्ध ‘सामाजिक सेवा’को क्षेत्र हो न की ‘व्यवसायिक पेशा’ । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनको निमित्त पनि अब हामी आफू पनि अग्रसर हुनुपर्ने आवश्यकता महशुस गरेकी छु ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update