रामचन्द्र रायमाझी
पाल्पा, बिहीबार राति बुटवलबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका लागि हिडेको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।
उक्त बसमा सवार खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सबै महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, उनको ११ वर्षीया छोरी सरुमाया घिमिरे, ५४ वर्षीया खिमाकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया विमा पाण्डे रहेका छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको थियो । दुर्घटनामा परी १८ जना घाइते भए । दुर्घटनामा सोही ठाउँकी ६० वर्षीय यमकली रास्कोटी, ३९ वर्षीया यमकला पाण्डे, ७२ वर्षीया पूर्णकला दर्जी, २३ वर्षीया लालकुमारी गाहा, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाहा, ९ वर्षीया अप्सना रास्कोटी, ६५ वर्षीया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षीया वर्ष भन्ने लिमकली पाण्डे, उनको ३ महिने छोरी अर्या पाण्डे, ७३ वर्षीया श्यानिकला बस्नेत घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
यस्तै सोही ठाउँकै २२ वर्षीया श्रेया राना, उनको १८ महिने छोरा दिपसन राना, चालक ३२ वर्षीय चेतबहादुर दर्जी, २५ वर्षीया चुमा घर्ती, गाडी धनी ४१ वर्षीय रामहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेस्मी पनि घाइते भए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल र एडमनसिटी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको छ । उपचार मध्ये १० जनाको शुक्रबार डिस्चार्ज भएको रैनादेवी छहरा गाउँपालिका–८ वडा अध्यक्ष रेमबहादुर रानाले बताए । उनका अनुसार दुर्घटनामा मृत्यु हुने र घाइते अधिकांश बुटवल गोलपार्कमा रहेको सच्चाइ केन्द्र नेपालको बुटवलस्थित शाखाले आयोजना गरेको प्रार्थना तथा सत्य वचन सुन्ने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए । सच्चाइ केन्द्रले इसाई धर्मावलम्बीको प्रार्थना गराउने कार्यक्रम गर्छ । विहिबार दिनभर ईश्वरको महिमा गाउँदै सत्य वचन सुनेर घर फर्किदै गरेका उनीहरु सवार बस बिहीबार राति १०ः२५ बजे दुर्घटना हुन पुगेको थियो । बस दुर्घटनामा खुर्साने गाउँका ६ जनाको मृत्यु भएको खबर पाएलगत्तै वडा अध्यक्ष राना गाउँ पुगेका थिए । परिवारजन र आफन्तहरुलाई सान्त्वना दिन खुर्साने पुगेका उनी आफैलाई सम्हाल्न सकेनन् । अहिले सिंगो गाउँ शोकमग्न भएको छ । एउटै टोलका ६ जनाको मृत्युले सिंगो गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष रानाले एनजेडीलाई बताए । मृतकका परिवार र आफन्तहरुमा रुवाबासी चलेको छ । दुर्घटनाग्रस्त बस सडकबाट १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत पर्ने खुर्साने गाउँ नजिकै हो । बस ब्रेक फेल भएर दुर्घटना भएको भनिए पनि त्यसको वास्तविक कारण भने खुल्न सकेको छैन् ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गदै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल समेत गरेका छन् ।