देवेन्द्र के.सी.
बा ले कहानी सुनाउदै जानुभयो,आशुँधारा ले गला अबरुद्ध पार्यो म पनि सम्हालिन सकेन गहभरी आँशु भयो । आफ्नी फुल जस्ति छोरीलाई अल्पायु मै गुमाएपछि हजुरबा कैयन दिन अचेत बन्नुभयो । छोरी पञ्चतत्वमा बिलिन भईन,क्रिया क्रम सकियो तर हजुरबाको चेत खुलेन । बर्बराउदा बर्बराउदै अर्धपागल जस्तै हुनु भएछ । यता हजुरआमालाई छोरीको मृत मुखसम्म हेर्न नदिएर घरमै ढोका थुनेर राखिएछ । मिलेको घर,सम्हालिएको परिवार सबै लथालिङ्ग भयो,भताभुङ्ग भयो । शोकै शोक मा ओछ्यान नै नछोडेर हजुरबा पनि स्वर्गबासी हुनुभयो । बा को एकमात्र आस्थाको किल्ला ढल्यो । अब आफु बाँचेर पनि के नै हुन्छ र ? भन्ने सम्ममा बा पुग्नु भएछ तर हजुरआमाको लागि भए पनि बाँच्ने भनेर हजुर आमा कै अगि पछि गर्न थाल्नुभएछ । बा ले जीवनको अतित कोट्याउदै जानुभयो म सुन्दै गएँ ,रुँदै गएँ । छलीले छल पठाएर बा लाई छल गरिसकेको थियो । हजुरआमा र बा टुहुरा जस्ता भए । हजुर आमा डाँको छोडेर रुँदा ‘नरोउ आमा म ज्यँदै छु‘ भनेर बा ले ढाडस दिनुन्थ्यो रे ! ‘बाघ जस्ता तेरा बा र उडेको चरो छोप्ने तेरी दिदी गैहाली तँ बबुरोले खै के गर्लास् र’ हजुर आमा भाग्यभएकी अभागी हुनुभएको थियो । अझै पनि बा को जीवनमा बज्रपात रोकिएन । हजुर आमा बारीको काँल्लाबाट खस्नुभएछ । एउटा हात भाँच्चियो । हजुरआमा घाईते बन्नुभयो, बा खाएको भातको गासपनि घाँटीबाट तल झरेको देखिने पातलो हुनुहुन्थ्यो रे ! हजुरबा ले छोडेर गएको सम्पति बाहेक अरु केहि थिएन बा को जीवनमा । त्यहि सम्पतिको किचलो झिकेर आफन्तहरुले सताउनुसम्म सताएछन् । घर फोरिदिने,कुखुरा मारिदिने गरेर आमा,छोरालाई त्यो समाजबाटै खेदाउदा केहि बुद्धिजिवी न्वारन देखिको बल लगाएर लागे छन । बा उमेर नभईकन परिस्थितिले परिपक्क बन्नुभएको थियो । पढाईमा अब्बल भएको ले मास्टर बन्ने या लाहुरे बन्ने ईच्छा भएपनि हजुरआमाको मुख हेरेर आफ्ना ईच्छाहरुलाई रहरमै मार्नुभएको थियो बा ले। “सबै कुरा छोड बाबै,एउटी लिखौटी बिहे गर कमसेकम तँलाई मन बुझाउने बाटो हुन्छ”भनेर बारम्बार हजुरआमाले सुनाएपछि सत्र बर्षको उमेरमा बा ले घरजम जोड्नुभएछ ।
बा बिस बर्षको हुँदा आमा जम्मा पन्ध्र बर्षकी हुनुन्थ्यो । म जन्मिएछु त्यो फुटेको भाग्य,टुटेको मुटु,लथालिङ्ग र भताभुङ्ग परिवारमा आशाको दियो,बाको साथी,बुढेसकालको साहारा,हजुरआमाको असिम माया बनेंर म ‘बबुरो’उदाएको छु । म जन्मेपछि मेरो सलामतीको कामना गर्दै सिमे,भुमे,कुलदेवता,जलदेवता भाक्नुपर्ने भाक्नुभयो,मिठो,मसिनो खुवाउनु भयो । सम्पतिमा आफन्तकै बक्रदृष्टी परिसकेको थियो । बा ले पढाई छोडिसक्नुभएको थियो । मेरो सुन्दर भविष्यको कल्पनामा बा को सहारा ‘आरा’बनिसकेको थियो । एउटा सिकारु केटा पोख्त‘आरा चालक’बनिसकेको थियो । बिधीको बिधानले लथालिङ्ग पारेको हाम्रो घरलाई ‘आरा’ले ट्रयाकमा ल्याउदै थियो ।
बा आफु सुत्नुभएन तर हामीहरु मस्त संग सुत्यौ,बा ले खानुभएन हामीहरु टन्न खायौ । त्यो आराको कमाईले बा ले पाँच छोराछोरी हुर्काउनु भयो,पढाउनु भयो र बढाउनुभयो । “त्यो सत्रबर्षे उमेरमा तेरी आमा नभेट्टिएको भए र यो आरा नभएको भए म आज ज्यँदो कहाँ रहने थिँए र ” ? बा ले आजकल कहनु हुन्छ। ‘मलाई बिबसताले बाँच्न सिकायो र परिस्थितिले हाँस्न’बा ले मन को कुरा पोख्नुहुन्छ । बा ले पिर,दुख,बिबसता र निरासा पचाउने हिम्मत राख्नुभयो। बा बिबसताले खारिनुभयो र परिस्थितिले तिखारिनुभयो ।
आजकल मेरा बा बहुमखी प्रतिभाका धनी बन्नुभएको छ। आरा देखि ल्याप्टप सम्म हात अजमाउनुभएको छ। परिवार देखि समाजको पनि नेतृत्व गर्नुभएको छ। पहाड देखि तराईसम्म सम्पतिको मालिक बन्नुभएको छ। छोराछोरीहरु प्रगतिमा मख्ख बन्नुभएको छ।नाति,नातिनीहरुको लाड र प्यार बन्नुभएको छ।तर पनि बा ले आफ्नो धरातल बिर्षनुभएको छैन।आरा प्रतिको मोह हटेको छैन।आराको ‘ध्यार,ध्यार ’आवाजले मोहनी लाएको छ रे! आरा बा को अर्की दुलही रे ! आरा सुख र दुख को साथी रे !मुखमा माड पुर्याउने भर्याङ्ग रे ! मलाई पनि कुनै शंङ्का छैन मेरो ईज्जत,हुर्मत,शिक्षा,पहुँच सबैमा आराको कमाई मिसिएको छ ।आराको ’घ्यार,घ्यार’को आवाज र बा को पसिना सिँचिएको छ।
म शहरमा ‘स्टर्गल’गरिरहेछु तर आरा र आरा चालकले गाँउबाट मलाई धरातल नबिर्सिन खबरदारी गरिरहेछ । म सिडियो स्टेसन देखि रेडियो स्टेसन सम्म पुग्छु ,गोल्ड स्टार देखि फाईभ स्टारको दुरी तय गरें ,बाँसको चेपबाट निस्किएर समाचारको खेप बनाँए तर आरा ले के पायो ? आरा चालक लाई कहिले सम्म धुलो मै रोम्लिईरहन भन्ने ? मैले सोँचे अव शहरबाट गाँउ जाँदैछु बा लाई मिठो ,मसिनो केहि लगिदिनुपर्छ । म मोबाईल सोझ्याँए ,बा लाई तार हाँने बा,म आउदै छु के ल्याईदिँउ? बा ले कुसल मंगल सोध्नुभयो,नाति र बुहारीको सलामति सोध्नुभयो, म मुन्टो हल्लाँए अनि भन्नुभयो “बाबु ,अरु के ल्याउछस र ? एउटा राम्रो कम्पनीको आरा लिएर आईज है ।”
(लेखक नेपाल पत्रकार महासंघ(भारत साखा का सचिव हुन ।)