रामचन्द्र रायमाझी
पाल्पा, मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ । पाल्पाका आधा दर्जन स्वास्थ्य संस्थाहरुमा यतिबेला दूषित पानी उपभोग गरिहेको फेला परेको छ । यहाँँका स्वास्थ्य संस्थाहरुको लापरवाहीले उपचार गर्न पुगेका विरामीहरुले दूषित पानी पिउन बाध्य भएका छन् ।
संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ तर, मौलिक हकको प्रावधान लागू गर्न स्वास्थ्य संस्थाहरूलाई निकै सकस पुगेको छ । बिरामीलाई स्वस्थ गराउन प्रयासरत स्वास्थ्य संस्थाहरु नै स्वच्छ ,खानेपानी र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिक हक कार्यान्वयनमा उदासिन देखिएका छन् । स्वास्थ्य संस्थाको उदासिनताका कारण पाल्पाका आधा दर्जन स्वास्थ्य चौकीहरुमा दूषित पानीको प्रयोग भएको पाइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले पानी परीक्षण गरेका केही स्वास्थ्यचौकीमा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक ‘कोलीफर्म’ भेटिएको पाइएको हो । यहाँका तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनाकासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीमा इकोली र कोलिफर्मका जीवाणु फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनका अनुसार ५ वटा पालिकाका केही स्वास्थ्य संस्थाहरुमा गरिएको पानी परीक्षणमा इकोली र कोलिफर्मका जीवाणु फेला परेको हो ।
रिब्दीकोटकोट गाउँपालिकाको कुसुमखोला स्वास्थ्य चौकी, तिनाउ गाउँपालिकाको दोभान स्वास्थ्य चौकी, माथागढीको रहबास स्वास्थ्य चौकी, गोठादी स्वास्थ्य चौकीमा बिरामीले पिउन प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको डा. गिरीले बताए । उनका अनुसार बगनासकालीको चिर्तुङ्गधाराको एक घरमा प्रयोग भएको पिउने पानीमा समेत कोलिफर्म जीवाणु भेटिएको छ । पानी परीक्षण गरिएको तानसेनको जिल्ला अस्पतालमा भने त्यस्तो भेटिएको छैन् । स्वास्थ्य संस्थामै बिरामीले प्रयोग गर्ने पिउने पानी दुषित देखिनु दुखद् भएको डा. गिरीले बताए । उनले भने ‘ पानी शुद्ध र पिउन योग्य बनाउन सबैको ध्यान जानुपर्दछ, हामीले सम्बन्धित स्थानीय सरकार र खानेपानी डिभिजन कार्यालयलाई आवश्यक सुधार गर्न र सर्तकता अपनाउन भनेका छौं ।’ अहिले खानेपानी तथा गुणस्तर चेक जाँच सम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा पानीको परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले बताए । उनले भने ‘हामीले पानीमा रहेको टर्वीडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पीएच, इकोली र कोलिफर्मको जाँच गर्ने गरेका छौं ।’