Shittalpati
सबै वडा भवन निर्माण गर्छौ : नगर प्रमुख थापा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सबै वडा कार्यालयका भवनहरु निर्माण गर्ने गरी आफुहरुले काम अगाडि बढाएको बताएका छन् । रामपुर नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख थापाले आगामी ५ वर्ष भित्रमा सबै वडाका भवनहरु निर्माण गर्ने बताएका हुन् ।

साँघुरा भवनका कारण सेवाप्रवाहमा समस्या आएको भन्दै अब सबै भवन निर्माण गर्ने गरी नगर सरकारले काम गर्ने बताए । थापाले पहिलो कार्यकाल शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा बजेट विनियोजन गरी काम गर्नु परेको बताए । अब अन्य क्षेत्रको विकाससँगै वडाको प्रशासनिक भवन निर्माणलाई पनि सँगसँगै अगाडि बढाईने उनले बताए । उनले भने ‘गएको पाँच वर्षमा शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका योजनालाई प्राथमिकतामा राखेर काम ग¥यौँ अब वडा भवन निर्माण कार्यलाई सम्पन्न गर्छौ ।’ उनले भवन निर्माण गर्दा गुणस्तरियतालाई ध्यान दिनुको साथै प्राविधिकको स्टमेट अनुसार भवन निर्माण गर्न निर्देशन दिए । साथै गुणस्तरिय निर्माणका लागि स्थानीयले पनि खबरदारी गर्न आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा ८ का वडा अध्यक्ष दिनेश आचार्यले भवन नहुँदा सहज र सरल तरिकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकिएको बताउँदै समयमै भवन निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले वडाको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन भवन निर्माणलाई तदारुकता देखाइएको बताए । अध्यक्ष आचार्यले भने ‘सांघुरो भवनबाट अहिले सेवा प्रवाह गरिरहनु परेको छ, अब आफ्नै भवन निर्माण गरेपछि भने सेवा सहज हुनेछ ।’ सेवा प्रवाह नै वडाको प्राथमिकता रहेको उनको भनाई छ ।

संघीय सरकारको समपूरक बजेटमार्फत रामपुर ८ को कुमराङ ४ कोठे पक्कि भवन निर्माण कार्य सुरु भएको छ । के एन विल्डर्सले २५ लाख ३७ हजार ८ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य शुरु गरेको हो । आगमी बैशाख महिना भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए अनुसार समयसिमा भित्रै भवन निर्माण सम्पन्न गरिने निर्माण व्यवसायी भरतराज देवकोटाले बताए । वडा अध्यक्ष आचार्यको अध्यक्षता, वडा सदस्य विष्णुमाया गैरेको स्वागत, वडा सचिव महेश भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update