Shittalpati
सभामुखमा एमालेका घिमिरे निर्वाचित

पाल्पा, प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सहभागी २ सय ६८ मध्ये १ सय ६७ मतसहित घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।

घिमिरेले प्रतिस्पर्धी नेपाली काँग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिए । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने रहेका थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए । प्रतिस्पर्धी काँग्रेस उम्मेदवार न्यौपानेले १०० मत ल्याइन् । एक मत तटस्थ रहेको जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

सभामुखमा निर्वाचित घिमिरे झापा–२ बाट निर्वाचित सांसद् हुन् । उनले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २ सय ९७ मतले पराजित गर्दै निर्वाचित भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्ने छन् २०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बनेका संसद्को इतिहास अनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । यसअघि कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update