Shittalpati
पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।

कृषकले व्यावसायिक रुपमा सुन्तला खेती थालेपछि केही वर्षयता मनग्य आम्दानी गर्न थालेका छन् । सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार समेत आएको छ । दुई दशक अगाडिसम्म यहाँका कृषकले घरायासी प्रयोजनका लागि मात्र सुन्तला खेती गर्दै आएका थिए । तर अहिले भने उनीहरु व्यावसायिक रुपमा लागेका छन् । हावा, पानी, भौगोलिक भूवनोटले यहाँका छहरा, मुझुङ्ग, कुसुमखोला, देउराली, खस्यौली, भैरस्थान, बौघागुम्बा, नायर नम्तलेस, पूर्वखोला लगायतका कृषकहरु व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले व्यावसायिक सुन्तला कृषकहरुका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग गर्न थालेपछि कृषकहरुले अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेती गर्न तर्फ लागेका हुन् । जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला खेतीलाई आधुनिक प्रणालीबाट खेति गर्नका लागि ब्लक कार्यक्रमसँगै आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिदै आएका छन् । ‘पहिले–पहिले घर खानाका लागि मात्र सुन्तलाका बोट लगाउने गथ्र्यो, अहिले भने विक्री गर्ने गरी सुन्तला प्रत्येक घरमा लगाएका छौं’ छहरा अवलावासका अगुवा कृषक नित्यनन्द पोखरेलले भने ।

पोखरेलले यस वर्ष सात लाखको सुन्तला बिक्री गरिसकेका छन् । उनले १९ रोपनी क्षेत्रफलमा सुन्तलाको बगैचा नै बनाएका छन् । अर्का कृषक सञ्जिव बस्नेत पनि विदेशबाट फर्किएर अहिले व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । उनले व्यावसायिक कुखुरा पालन समेत गरेका छन् । कुखुरा पालनका लागि ल्याएको ऋण समेत उनले सुन्तला विक्रीबाटै तिर्न सफल भएका छन् । ‘घरमा पहिले २ बोट मात्र थिए । सबैले लगाउने भए पछि जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्र बनाउने भयो । त्यस पछिका दिनमा ३ सय बोट लगाएर सुन्तला विक्री गर्दै आएकी छु’ कृषक गंगा रायमाझी भन्छिन् । सुन्तलाबाट अहिले राम्रै आम्दानी हुुँदै आएको उनले बताइन् । रायमाझीले वार्षिक ५ देखि ६ लाख अम्दानी गर्दै आएकी छन् । कृषि ज्ञान केन्द्रले बगैचा क्षेत्र विस्तार कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले यान्त्रिकरण, शित भण्डार निर्माण जस्ता क्षेत्रमा सहयोग गरेका कारण महिलाहरुको सुन्तला खेतीमा आकर्षण मात्र होइन् समुह नै बनाएर व्यवसायिक खेतीमा लागेको अगुवा कृषक गीता भट्टराईले बताइन् । पूर्वखोलाकी पार्वती न्यौपानेले पनि यस वर्ष सुन्तला बिक्रीबाट ४ लाख आम्दानी गर्न सफल भएकी छन् । कृषि ज्ञान केन्द्रकी कामना अधिकारी कृषकलाई व्यवसायिकरुपमा लाग्ने प्रेरणा दिने गरी सुन्तला जात फलफुल पकेट क्षेत्र कार्यक्रम मार्फत काम गर्दै आएको बताइन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख दिपक भट्टराईले प्राविधि सँगै यान्त्रिकरणमा कृषकहरुलाई सहयोग गर्ने गरेका कारण कृषकहरु अहिले व्यवसायिक बनेको बताए । अहिले मुझुङ्गका गाउँबाट मात्र वार्षिक रुपमा ७० लाख देखि १ करोडसम्म सुन्तला विक्री हुँदै आएको छ ।

उचित मूल्य नहुँदा भने चिन्तित
सुन्तला उत्पादन बढेकामा खुशी भएका यहाँका कृषक उचित मूल्य नहुँदा भने चिन्तित छन् । ‘वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ’, कृषक सञ्जिव बस्नेतले भने । व्यवसायिक सुन्तला खेती गर्दै उनले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपनि उचित मूल्यको अभावले किसानलाई चिन्तित बनाएको बताए । उत्पादित वस्तुमा कृषकले भन्दा बिचौलियले बढी मुनाफा कमाएकोमा सुन्तला खेतीतर्फ उत्साहित कृषक पछिल्लो समयमा निरास भएका छन् । कृषकका घर बारी बगैचामा पुगेका व्यापारीले प्रति के.जी ४० देखि ५० रुपैयाँमा खरिद गर्दा कृषकको लागत मूल्यसम्म उठाउन नसकेको कृषक बस्नेत बताउँछन् ।

पौष्टिक फल
सुन्तला नेपालको मध्यपहाडी क्षेत्रलाई उत्पत्तिस्थल बनाएको मौलिक फलफूल हो । हाल ५५ भन्दा बढी जिल्लामा सुन्तला खेती गरिन्छ । यसमा भिटामिन–ए, भिटामिन–सि, पोसियम लगायत अन्य गुनिला पोषण पदार्थ पाइन्छ । हाल नेपालमा व्यावसायिक तथा जंगली अवस्थाका फलफूलका रूपमा उपभोग गरिने फलफूलमध्ये सुन्तलाले प्रमुख स्थान ओगटेको छ । एकातर्फ भौगोलिक हिसावले मध्यपहाडी क्षेत्र सुन्तला खेतीका लागि अनुकूल छ भने अर्कोतर्फ हावापानीको हिसावले उत्पादित फलको गुणस्तर पनि अति उत्तम मानिन्छ । वर्षेनि आन्तरिक तथा बाÞय बजारमा सुन्तला फलको माग पनि वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपालमा खेती नगरिएको तर विदेशबाट भित्रिएका केही नौला जातका फलफूल पनि फलफूल बजारमा पाइन थालेका छन् । नेपालीहरूको औषत आम्दानी स्तर पनि वृद्धि हुँदै गएको र वैदेशिक रोजगारीमा देश–विदेश घुम्दा, काम गर्दा देखे–भेटेसम्मका फलफूल खाने र मिलेसम्म बेर्ना पनि साथै लिएर आउने गर्छन् ।

यी विभिन्न किसिमका फलफूलमध्ये सबैले मन पराउने, खाएर कहिल्यै नअघाउने, नमात्ने, जतिबेला पनि खाउँखाउँ लाग्ने, धेरै खाए पनि शरीरमा कुनै असर नपर्ने सदाबहार फलफूल हो सुन्तला । गाउँघर, सहर–बजार जताततै केटाकेटी, युवा युवती, महिला पुरुष, जेष्ठ नागरिक सबैले उत्तिकै रुचाएर खान्छन् । बिरामी हुँदा यसको फल खान र पचाउन सजिलो हुन्छ । पौष्टिक हिसावले भिटामिन–ए, भिटामिन–सि, पोटासियम लगायतका मानव स्वस्थ्यजनक लाभदायी तत्वहरू प्राप्त हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update