पाल्पा, प्रतिनिधिसभाको उपसभामुुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी प्रतिस्पर्धी नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा रानाले १ सय ६६ मतसहित ल्याएर निर्वाचित भएकी हुन् । उनको प्रतिस्पर्धी यादवले ९७ मत प्राप्त गरिन् । कूल २ सय ६४ मत खसेको मा १ जना सांसद् तटस्थ बसेका थिए ।
उपसभामुुखमा निर्वाचित झापाकी राना आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन् । राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन् । उनको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन थिए । रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने प्रारम्भिक चरणमा चर्चा भए पनि सत्ता साझेदार दलहरूले रानामगरलाई उपसभामुख बनाउने निर्णय गरेको थियो ।
त्यस्तै यादवको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए । काँग्रेसको १४ औं महाधिवेशनमा यादवले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भइन् । २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेकी उनी अहिले प्रतिनिधिसभाको समानुपातिक सांसद् हुन् ।