Shittalpati
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं

पाल्पा, देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । सहिदप्रति सम्मान गर्दै दिवस मनाउन लागिएको हो ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आइएको छ । वि.स. २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गंगलाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो ।

राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । आज सहिदको सालिकमा माल्यार्पण गरिने छ । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याड्ढ छैन । नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update