Shittalpati
उपेक्षामा सच्चा सहिद !

रामचन्द्र रायमाझी
पाल्पा, हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आयो र गयो पनि । माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने परम्परालाई यसपटक पनि निरन्तरता दिँदै सोमबार सहिद दिवस मनाइयो । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए !’ तर, आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन्, न सहिद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन् । सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गंगालाल, शुक्रराज, दशरथ र धर्मभक्तजस्ता सच्चा सहिद त आज खोजेर पाउनै मुस्किल छ ।

सरकारले मनपरी सहिद घोषणा गर्नुले पनि सच्चा सहिद उपेक्षामा परेका छन् । देशमा प्रजातन्त्र ल्याउन जीवन उत्सर्ग गरेका सहिदलाई हरेक सरकारले गलत व्याख्या गरेर सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको छ । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिदको उपेक्षा भएको हो । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा भएको छैन । देशमा प्रजातन्त्र ल्याउन सहिदले जीवन उत्सर्ग गरे, तर अहिले लोकतन्त्र हुँदै गण्तन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले सहिद उपमालाई गलत व्याख्या गरेर पार्टी पिच्छे सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको राप्रपा पाल्पाका नेता देवेन्द्र बहादुर रायमाझीले बताए । उनी भन्छन्, ‘राणाशासन विरुद्ध वलिदान दिने सहिदको भावनालाई सरकारले कदर गर्नुपर्ने र अरुले पनि उनीहरुलाई विर्सन हुँदैन ।’ योगदानको कदर हुन नसक्दा सहिदको अबमूल्यन भएको प्रति रायमाझीले चिन्त व्यक्त गरे ।

आज वास्तविक सहिदहरू हराएका छन् । नक्कली सहिदहरू हाबी भएका छन् । प्रजातान्त्रिक आन्दोलनमा जानेर, बुझेर लागेर मर्नेहरूको कुनै हिसाब किताब नै छैन । आतंक, हत्या,हिंसामा लागेर मर्नेहरूलाई सहिद बनाउन राजनीतिक दलहरू तँछाड मँछाड गरिरहेका छन् । यसबाट सक्कली सहिदहरूप्रति अन्याय र अपमान भएको छ ।

अझ सरकारले सहिद सप्ताहको अन्तिम तथा महत्वपूर्ण दिन माघ १६ गतेलाई सार्वजनिक बिदा घोषणा समेत गर्न कन्जुस्याई गर्‍यो । सहिदकै बलिदानीलाई लिएर राजनीतिको सिँढी चढ्ने भर्याङ बनाएका नेताहरू उनीहरूको सम्मानमा एक दिन बिदासम्म दिन चुकेका छन् । आन्दोलनका क्रममा मारिएका पनि सहिद छन्, गाडीमा परेर दुर्घटना भएर, करेन्ट लागेर मरेका व्यक्तिलाई पनि सहिद मानिएको छ । जसले गर्दा सच्चा सहितको अपमान भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update