रेसुङ्गा, गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।
यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाएक उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष रु दुई लाख आम्दानी गर्दै आएका छन् । न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्छन् ।
“सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन”, उनले भने, “सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।” पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछन् । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छन् । स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताए ।
उनले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो । सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उनीसँग अनुभव छ । पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँछन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्तछन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आएका छन् । –रासस