पाल्पा, डिजेल र पेट्रोलको भाउ भारतबाट बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।
जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ । ग्याँसमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेको निगमले जनाएको छ । भारतबाट इन्धनको भाउ बढेर आए पनि यो समाचार तयार पार्दा सम्म सरकारको कुुनै पनि निर्णय गरेको छैन ।