कृष्ण पोखरेल
पाल्पा, सुन्दा रमाइलो लाग्न सक्छ – नेवार समुदायमा केटी मानिसको तीन पटक विवाह गरिन्छ । पहिलो बेल विवाह । दोस्रो विवाह सूर्यसँग र तेस्रो विवाह बरसँग हुन्छ । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने नेवारी मान्यता छ ।
पछिल्लो समय सामुहिक रुपमा बेल विवाह हुन थालेका छन् । पाल्पाको तानसेन स्थित भगवती मन्दिरमा पनि शुक्रबार आयोजना गरिएको सामुहिक बेल विवाहमा ६ देखि १० वर्षसम्मका १० कन्या सहभागी थिए । उनीहरु दुलही झैँ सिगारिएर इही अर्थात् बेल विवाहको मण्डपमा सरिक भएका हुन् । उनीहरुको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छन् । सामूहिक बेल विवाहका लागि दुपट्टामा बेहुली झैँ चिटिक्क सिँगारिका उनीहरु निकै खुशी छन् । बेललाई शिवपुत्र कुमारको स्वरुप मानेर कन्यासँंग विवाह गरिन्छ । कन्यालाई एक हातमा सः लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर आमाबाबुले सुवर्ण कुमारलाई कन्या दान गर्छन् । यसैगरी यही अवसरमा बालकहरुको सामुहिक व्रतबन्ध पनि गरिदै छ । भगवती मन्दिर परिसरमै सामुहिक व्रतबन्ध हुन लागेको छ । सामुहिक बेल विवाहमा १० जना कन्या र व्रतबन्धमा ७ जना बालक सहभागी छन् । बालकबाट जवानीतर्फ प्रवेश गर्ने लक्षण देखिन थालेपछी व्रतबन्ध गरिदिने, ब्रम्हाचार्य पालना गराउने, विभिन्न धार्मिक निति नियमको बारेमा जानकारी गराउने, हरेक कार्य गर्न उपयुक्त बनाउने, शरिरका अंगहरुलाई वशमा राख्ने विधीको शुरुवात गरिदिनका लागि व्रतबन्ध कार्यक्रम गरिने गरेको तानसेन नेवा गुठीका अध्यक्ष प्रकाश गंगोलले बताए । गुठीले तानसेनमा नेवारी मौलिक कला संस्कृती परम्परा हराउदै गएकाले कला संस्कृति र परम्परालाई जर्गेना गर्ने, टुट्दै गएको भाईचाराको सम्बन्धलाई नजिक बनाउन, सामुहिक भावनाको विकास गर्न, समाजमा बढ्दै गएको तडक भडक र देखासिकी रोक्न तानसेन यस्ता कार्यक्रमलाई अभियानरुपमा सञ्चालन गरिएको अध्यक्ष गंगोलको भनाई छ ।
बेल विवाह तथा व्रतबन्ध घरमा गर्दा लाखौ रुपैयाँ खर्च हुने गरे पनि गुठीले ५ हजारदेखी १६ हजारसम्म रकम लिने गरेको छ । आर्थिक अवस्था हेरिकन शुल्क लिने गरेको र तोकिएको न्यूनतम शुल्क पनि तिर्न नसक्ने परिवारका लागि भने निवेदनको आधारमा निःशुल्क समेत गरिने गरेको उनले बताए ।
के हो इहि ?
इहीको अर्थ विवाह हुन्छ । नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ । तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित । यसलाई नेवार भाषामा इहि भनिन्छ । इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ । यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ । यद्यपि, सूर्यपूजा र दर्शन मात्रै गरिने, कन्यादान नगरिने हुँदा सूर्यदर्शनलाई विवाह होइन भन्ने मत पनि पाइन्छ । रजस्वला हुनुअघि नै सुवर्णकुमारसँग विवाह भइसकेको हुँदा पछि श्रीमानको मृत्यु भए पनि नेवार महिलाले रङविहीन अर्थात् वैधव्य जीवन व्यतीत गर्नुनपर्ने मान्यता नेवार समुदायमा छ । कथंकदाचित नेवार युवतीको विवाह नै भएन भने, सुवर्णकुमारसँग विवाह भइसकेकाले विवाहित हुँ भनेर आफूलाई मनोवैज्ञानिक सान्त्वना दिने आधार पनि छ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास गरिन्छ । इही नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो । इही कन्यादानकै एक विधि पनि हो । हिन्दू धर्मावलम्बी नै भए पनि नेवारहरूले दसकर्म संस्कारलाई मात्रै अनुसरण गर्दै आएको पाइन्छ । तिनै दशकर्म संस्कारमध्ये कन्यालाई गरिने संस्कार हो, इही । पुरुषको चूडाकर्म गरिएजस्तै कन्याको इही र बाःराः तयेगु चलाइएको हो । चूडाकर्म हिन्दू संस्कारसँग सम्बन्धित छ भने इही र बाःराः तयेगु हिन्दू र बौद्धको मिश्रित संस्कारमा आधारित पाइन्छ ।