Shittalpati
बिजुले मनायो ३७ औं वार्षिक उत्सव

पाल्पा, बिजु इङिलस बोर्डिङ सेकेण्डरी स्कुल तानसेनले ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक उत्सव मनाएको हो ।


कार्यक्रम समापनमा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यालयसँगै अभिभावकहरुले आफ्ना वालबालिकाहरुलाई घरमा पनि अनुशासित वातावरणमा खेल्दै पढ्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यले पाल्पामा संस्थागत विद्यालयहरुले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले सबै संस्थागत बिद्यालयहरुलाई एकत्रित गर्दै एकैमाध्यमबाट अगाडि बढाउनेमा प्याब्सन लागिपरेको बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका सचिव बिदुर घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, मुक्तिनाथ विकास बैंक पाल्पाका प्रमुख भुपराज भट्टराई लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा शिक्षासेवी एवम् विद्यालयका पूर्व अध्यक्ष छत्रराज शाक्य र देवप्रसाद बज्राचार्य सहित विभिन्न विषयमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी, अभिभावक र एसइई र बार्षिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका संयोजक उत्पल बज्राचार्यले अभिभावक तथा शुभचिन्तकहरुको सुझाव सल्लाह बमोजिम नै विद्यालयलाई आगामी दिनमा थप राम्रो गरी अगाडि बढाइने बताए ।

प्रिन्सिपल अनुराधा बज्राचार्यले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालय २०४२ सालमा स्थापना भई हालसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आएको बताइन् । उनले कोरोनाको समयमा समेत अनलाइन तथा प्रविधिमैत्री शिक्षा प्रदान गरिएको, व्यवहारिक र गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरु जस्तै तेक्वान्दो लगायतका प्रतियोगिताहरुमा विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नतिजा दिदै आएको बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रकाजी शाक्यको अध्यक्षता, उपाध्यक्ष सञ्जयराज शाक्यको स्वागत, विद्यार्थी तपस्सी बज्राचार्य र रेशीका सिंजालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update