पाल्पा, जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा महोत्सव तथा व्यापार मेला सञ्चालन भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला शुक्रबारदेखि रामपुरमा सुरु भएको हो ।
संघको भवन निर्माण, आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेसी क्षेत्रको पहिचानसँंगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ । महोत्सव ११ दिनसम्म चल्ने छ । महोत्सवको आम्दानीबाट संघको भवन निर्माण गर्ने र स्थानीय कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल रहेका छन् । महोत्सवमा बाल उद्यान, हेलिकप्टर र प्याराग्लाइडिङ्गबाट दृश्यावलोकन, कालीगण्डकीमा जलयात्रा, स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना खान पाइने व्यवस्था रहेको छ । तेस्रो रामपुर डान्स आइडल र लोकदोहोरी प्रतियोगिता, दैनिक ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय स्तरका मौलिक र स्वदिष्ट खानाका परिकारहरु, लोक संस्कृतिको जगेर्नाको लागि विभिन्न जातजातिका झाँकी प्रदर्शन, जिल्ला स्तरीय भलिबल प्रतियोगिता रहने पनि आयोजकले जनाएको छ ।