पाल्पा, आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार एक दिन देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जनिथलाल सिंहलाई कुटेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । सिंह प्रहरीको लाठ्ठीचार्जबाट घाइते भएका छन् । संघले देशभरका सम्पूर्ण सर्वसाधारण नागरिक, बुद्धिजीवीवर्गलगायत शाखा कार्यालयहरुलाई घोषणा गरिएको आन्दोलनलाई साथ र समर्थन दिन विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ ।