पाल्पा, चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान भएको वार्तासँगै ६ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी चिकित्सकहरू काममा फर्किने भएका छन् । संघ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो । वार्तामा माघ २७ गते दिनको ४ः१५ बजे राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाबारे वार्ता टोलीबीच छलफल भएको र घटनामा घाइते भएका चिकित्सकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारवाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ । वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ । सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जनिथलाल सिंहलाई कुटेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । सिंह प्रहरीको लाठ्ठीचार्जबाट घाइते भएका छन् । उनीमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।