Shittalpati
बजेटको आकार घट्यो

पाल्पा, चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाइएको बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको हो । सो अघि संघीय संसदलाई जानकारी गराइएको हो ।

मन्त्री पौडेलले पछिल्लो केही समयदेखि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको र आर्थिक पुनरुत्थानका क्रममा चुनौती थपिएकाले बजेटको आकार घटाइएको बताए । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकोमा समीक्षामार्फत पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेका छन् । बजेट खर्चमा चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड खर्च हुने सुरुको अनुमान रहेकोमा पौडेलले संशोधित अनुमान १० खर्ब २१ अर्ब ९२ करोड कायम गरेका छन् । सुरुको बजेटको तुलनामा यो रकम ८६.३ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड खर्च गर्ने सुरुको बजेट अनुमान रहेकोमा संशोधन गरी ३ खर्ब १३ अर्ब ८५ करोड हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ सुरुमा २ खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन गरेकोमा संशोधनमार्फत २ खर्ब १४ अर्ब २१ करोड हुने अनुमान गरिएको छ ।

राजस्वतर्फ कुल संकलन लक्ष्य सुरु बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड लक्ष्य लिइएकोमा संशोधन गरी १२ खर्ब ४४ अर्ब ७५ करोड कायम गरिएको छ । त्यस्तै वैदिशक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने संशोधित अनुमान छ । अर्थमन्त्री पौडेलले कृषि र पर्यटन पक्षमा सुधार भएपनि उत्पादन मुलक उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा सुस्तता छाएको बताए । वर्षको मुद्रास्फीति ७ प्रतिशत सीमामा राख्ने लक्ष्य भएकामा अहिले नै ७.२६ प्रतिशत पुगिसकेको छ । यसअवधिमा कर्जा २.८ प्रतिशत र निक्षेप ४.२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update