पाल्पा, विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् । २०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथा प्रसारण सुरु भयो । अहिले भने देशका विभिन्न ठाउँमा खोलिएका रेडियोको संख्या हजारौँ पुगिसकेका छन् । पहिलो पटक सन् १९१९ को अक्टोबरमा अमेरिकामा रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ । सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ । अहिले पनि गाउँघर र दूरदराजमा रेडियो निर्विकल्प सञ्चारको माध्यम बनेको छ ।