Shittalpati
बेथल बोर्डिङले मनायो २६ औं वार्षिकोत्सव

पाल्पा, निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिककोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री वीरबहादुर रानाले तानसेनको शैक्षिक क्षेत्रमा बेथल स्कूूलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शैक्षिक गुणस्तर वृद्धि गर्ने र शिक्षालाई थप प्राविधिकमैत्री बनाउने दिशामा ध्यान दिन विद्यालयलाई आग्रह गरे । विशिष्ट अतिथि अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले संस्कार सहितको व्यवसायिक र प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले स्कूूलले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विद्यालयका पूर्व प्रिन्सिपल समेत रहेका सांसद् सारुले विद्यालयको शैक्षिक गुणस्तरमा आफुु आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष त्रिलोचन पौडेल, प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, प्याब्सनका पूर्व जिल्ला अध्यक्ष भरतप्रसाद न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिं, प्याब्सनका नगर अध्यक्ष गंगा बहादुर खत्री, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पाल्पा व्यापार संघका प्रतिनिधि बालकृष्ण भण्डारी, अभिभावक राजेन्द्र खड्का, बेथल भुपु विद्यार्थी समाजका उपाध्यक्ष लिनिसा गाहा, विद्यार्थी बिरिश सारु लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयमा गठित बेथल भुपु विद्यार्थी समाजले जेष्ठ अभिभावकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र तेक्वान्दो प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । सोही अवसरमान विद्यालयका कार्यवाहक प्रिन्सिपल रुपचन्द्र थापाले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयमा समयसापेक्ष प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । थापाले विद्यालयले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरुसँगै तेक्वान्दो लगायतका खेलकुदमा समेत धेरै पदकहरु प्राप्त गरेको समेत बताए । विद्यालयमा नियमित रुपमा अतिरिक्ति क्रियाकलापसँगै विद्यालय र विद्यार्थीहरुको तर्फबाट विभिन्न समयमा सामाजिक सेवा अन्तर्गत दृष्टिबिहीन तथा गरिव र विपन्न विद्यार्थीहरुको सहयोगार्थ रचनात्मक कार्यक्रम हुँदै आएको थापाले बताए । यस शैक्षिक सत्रमा जेहन्दार र न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरुलाई २७ लाख ३५ हजार ६ सय ८९ रुपैयाँ बराबरको निःशुल्क छात्रवृत्ति प्रदान गरेको पनि प्रिन्सिपल थापाको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालको अध्यक्षता, सहायक प्रिन्सिपल महेन्द्रकुमार पोखरेलको स्वागत,विद्यार्थीद्वय अदिश नेपाल र मालिका छहरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update