Shittalpati
तानसेनमा मगर एकता दिवसमा सार्वजनिक विदा

पाल्पा, राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको तानसेनमा सार्वजनिक विदा हुने भएको छ । तानसेन नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाहुल्यता रहेको यहाँ उनीहरुको पहिचान, भाषा संस्कृतिको संरक्षणका लागि दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिए । उनले पत्रकार सम्मेलनमार्फत कार्यपालिकाका निर्णहरु सुनाउँदै फागुन १५ मा सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका हुन् । विदाको दिन तानसेन नगरपालिकासहित मातहतका कार्यलय, शैक्षिक तथा सामाजिक संघसंस्थाहरु बन्द हुने छन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ । मगर बाहुल्यता रहेको पाल्पामा विगतका वर्षहरुमा दिवसका दिन अन्य स्थानीय तहहरुले सार्वजनिक विदा दिदै आए पनि तानसेन नगरपालिकाले दिएको थिएन । यस पटक भने विदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update