रामचन्द्र रायमाझी
पाल्पा, आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ । विशेषगरी युवापुस्तामा लोकप्रिय यो दिन विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गर्दन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ।
रोमन साम्राज्यमा युवा प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाईएको अवस्थामा त्यसको विरोधमा उत्रिएका पादरी सेन्ट भ्यालेन्टाईनको सम्झनामा यो दिन मनाउने गरिन्छ । उनले युवायुवतीको जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह कार्यक्रम गरेपछि कानुन उल्लघंन गरेको आरोपमा ईसा पुर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरु उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । विषेश गरी युवा युवतीले उत्सवकै रुपमा मनाउने प्रणय दिवस केही वर्षयता नेपालमा पनि विशेष रुपमा मनाउने गरिएको छ । प्रेम सम्बन्धमा रहेका युवायुवती मात्र होइन, प्रेम गर्ने तरखरमा रहेका युवायुवतीका लागि पनि भ्यालेन्टाइन डे को दिन विशेष हुने गर्छ । यस दिन युवायुवती आफूले मन पराएको व्यक्तिलाई रातो गुलाफको फूल, चकलेट, कार्ड र उपहारहरू दिने गर्छन् । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गरेमा प्रेम प्रस्ताव स्वीकार गरेको बुझिन्छ । गुलाफी रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक हो । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो । हिजोआज युवायुवती मात्र होइन, वयस्क जोडी पनि यो विशेष अवसरमा आफ्ना पार्टनरलाई विशेष उपहार दिने, सँगै पार्कमा घुम्न जाने, सँगै डिनर गर्न जाने आदि गर्दछन् ।
प्रेमभाव व्यक्त गर्न विभिन्न एकान्त ठाउँमा युवायुवतीका जोडी देख्ने गरिन्छ । जोडीहरु प्रेमको प्रतिकका रूपमा लिइने पाल्पाको ऐतिहासिक रानीमहल पुग्ने पनि प्रशस्तै भेटिने गरेका छन् । प्रणय दिवसका अवसरमा सयौँ जोडी पाल्पाको रानीमहल पुुग्ने गर्दछन् । रानीमहलसँगै यहाँका श्रीनगरडाँडा, रामचेडाँडा, तालपोखरा, सिद्धबाबा क्षेत्र भुजातलगायतका अन्य स्थलमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ । प्रायः पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । भ्यालेन्टाइन डे का बारेमा सबैका आ–आफ्नै धारणा छन् । कसैले पश्चिमको संस्कृति भएकाले यसलाई मनाउन आवश्यक नभएको भन्छन् त कोही राम्रो पक्षलाई अनुसरण गरेर मनाउनुपर्ने बताउँदै आएका छन् । प्रेम दिवसलाई विकृति भनिहाल्न नमिल्ने तानसेनका देवेन्द्रबहादुर रायमाझी बताउँछन् । उनले भने,‘प्रणय दिवस विभिन्न रूपमा परम्परादेखि नै मनाइँदै आएतापनि समय र परिस्थितिअनुसार यो परिमार्जित हुँदै जानुपर्छ । माया गर्नेहरूका लागि हरेक दिन भ्यालेन्टाइन डे हुनुपर्छ । यसलाई मनाउनु त ठीकै छ । तर विकृति नै हुने गरी नभई आफ्नो संस्कृति पनि बचाउनेतर्फ ध्यान दिनुपर्छ ।’ दिवस युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेर समूहका व्यक्तिले पनि नेपाली संस्कृति अनुसार व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्किने उनको बुुझाई छ । प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत नहुने गुल्मीका तम्घासका अशोक श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘एक हिसाबले अहिलेको पुस्तालाई त ठीकै लाग्ला । जायज चाहीँ होइन । यद्यपि यसलाई गहिराईमा गएर हेर्दा पछिल्लो समय यसले विकृतिको रुप लिएको छ । साँचो प्रेम गर्न नसक्दा दिवसकै दिन कयौं प्रेमी प्रेमिकाहरुले ज्यान समेत फालेका घटना छन् ।’