पाल्पा, आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस बाल्यकालको क्यान्सरको बारेमा सचेतना जगाउन र क्यान्सर पीडित बालबालिका र किशोर किशोरीहरू, बाँचेकाहरू र उनीहरूका परिवारहरूका लागि समर्थन व्यक्त गर्न विश्वव्यापी सहयोगी अभियान हो । यस संसारमा हरेक ३ मिनेटमा एउटा बालबालिका क्यान्सरका कारणले मर्ने गरेको तथ्याकं छ । यसबाट पनि बालबालिकामा क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दछौँ । प्रत्येक वर्ष, चार लाख भन्दा बढी बालबालिका र २० वर्ष मुनिका किशोरहरूलाई क्यान्सरको निदान गरिन्छ । यसरी क्यान्सर लागेका बालबालिका र किशोर किशोरीहरुको बाँच्ने दर उनीहरू बस्ने देश र क्षेत्रमा निर्भर गर्दछ, धेरै जसो उच्च आय भएका देशहरूमा ८० प्रतिशत बाँच्ने सम्भावना र कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको तथ्याकं छ ।
डब्लुयूएचओ ग्लोबल चाइल्डहुड क्यान्सर इनिसिएटिभको लक्ष्य भनेको क्यान्सरसँग लडिरहेका बच्चाहरूको सबै पीडा र पीडालाई हटाउन र सन् २०३० सम्ममा विश्वभर क्यान्सरको निदान भएका सबै बालबालिका र किशोरकिशोरीहरुको लागि कम्तीमा ६० प्रतिशत बाँच्ने लक्ष्य हासिल गर्नु हो । हरेक वर्ष विश्वभर करिब २ लाख ८० हजार जना १९ वर्ष मुनीका जनसख्यामा क्यान्सर भएको पाइन्छ । अलिक उच्च आय भएका देशमा ८० प्रतिशत क्यान्सर भएका बालबालिकाहरूको उपचार सम्भव भएको तथ्य छ तर निम्न आय भएका देशहरूमा भने केवल २० प्रतिशत मात्र उपचार भएर निको हुने तथ्य छ ।