पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार यहाँ अस्पतालको शिलान्यास गरिएको हो ।
अस्पतालको बुधबार गाउँपालिका अध्यक्ष सरस्वती चिदी र उपाध्यक्ष हरि पाठकले शिलान्यास गरेका हुन् । १४ करोड ५० लाख ८२ हजारमा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २०७९ जेठ १३ गते सम्झौता भएको अस्पतालको निर्माण २०८० मंसिर १३ गते भित्र सम्पन्न गर्ने गरी बुद्ध/पशुपति जुगल कम्पनीसँग सम्झौता गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । अस्पतालमा मेडिकल अधिकृत सहित डाक्टर र नर्ससहितको टिम रहने उनले बताए ।
अस्पताल निर्माण भएपछि गाउँपालिकाबासीले चिकित्सकीय सेवा, आकस्मिक, ओपिडी, फार्मेसी, ल्याब, रेडियोलोजी लगायतका सुविधा प्राप्त गर्ने छन् । स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई स्वास्थ्य सेवामा सहजै पहुँच पु¥याउन संघीय सरकारको अवधारणा अनुसार १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिएको पालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । उनले भनिन्, ‘यसले ग्रामीण क्षेत्रको स्वास्थ्यमा थोरै भए पनि इँटा थपेको छ ।’ ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँचमा सुनिश्चित गर्न अस्पतालले महत्वपूर्ण भूमिका खेल्नेमा पालिका उपाध्यक्ष पाठकले विश्वास व्यक्त गरे । इन्जिनियर प्रमोद कुंवरले सुविधा सम्पन्न भवन छिट्टै निर्माण हुने बताए ।