हाम्रा संवाददाता
गुल्मी, विश्वमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा गुल्मीमा भेटिएका छन् । यहाँको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका नयाँ चरा फेला परेका हुन् । पक्षी संरक्षण संघ गुल्मीले रेसुङ्गामा चरा सम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । अघिल्लो वर्ष ६ प्रजातिका चरा भेटिएकोमा यस वर्ष पाँच प्रकारका नयाँ प्रजाति देखिएका हुन् ।
खासगरी यहाँका रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरु भेटिने गरेका छन् । यस वर्ष रेसुङ्गा क्षेत्रमा पाँच प्रजातिका चरा थपिएसँगै दुई सय ५८ पुगेका छन् । यसअघि दुई सय ५३ प्रजातिका चरा यहाँ थिए । नेपालमा पाइने चराहरुको संख्यात्मक हिसाबले गुल्मीमा मात्र ३५ प्रतिशत भन्दा बढी विभिन्न प्रजातिका चराहरु फेला परेका छन् । रेसुङ्गा क्षेत्रमा मात्र हाल २९ प्रतिशत पाइने गरेको संघका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए । यहाँ विश्वकै दुर्लभ मानिएका रणमत्त महाचील, चील, सेतो गिद्ध, गोमायु महाचील, डंगुर गिद्ध र सुन गिद्धहरु पाइन्छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाईने काँडे भ्याकुरसमेत छ ।
हरेक वर्ष जनवरीको दोस्रो सातामा नेपालका मुख्य नदी र सिमसार क्षेत्रमा चरा गणना हुने गरेको छ । सोहीअनुसार जिल्लाको रेसुङ्गा क्षेत्रमा पनि चरा गणना भएको थियो । गणना चराको आवाज, रंग र प्रजातिको हिसाबले गरिन्छ । चराको संख्या बढे पनि पानीमा आश्रित चराको संख्या भने घट्दो रहेको विज्ञ बताउँछन् । खोला तथा सिमसारको पानी प्रदूषित हुने र अतिक्रमण हुँदा पानीमा आश्रित चराहरू घट्दै गएका हुन् । जाडो छल्न विभिन्न देशबाट यस क्षेत्रमा पंक्षि आउने भएकाले हरेक जनवरीमा पक्षी गणना गरिन्छ । नेपालमा चरा गणनाका लागि कुनै आधुनिक प्रविधि भने छैन ।
रेसुङ्गामा वन संरक्षण क्षेत्रको जंगल सात हजार नौ सय तीन हेक्टर क्षेत्रफल छ । यहाँ एक सय २५ वनस्पति, ७१ जडीबुटी, २५ स्तनधारी, १९ पुतली, १९ सरिसृप, ११ माछा र छ प्रजातीका उभयचयहरु समेत छन् । रेसुङ्गालाई सन् २००५ मा महत्वपूर्ण चराको क्षेत्रका रुपमा पहिचान गरिएको थियो । सामुन्द्रिक सतहदेखि दुई हजार तीन सय ५० मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मानिन्छ ।