Shittalpati
रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई

पाल्पा, निर्माण गरिएको रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १५ शैयाको उक्त भवन एक कार्यक्रमका बिच रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीबाट बजेट विनियोजन भई भवन निर्माण गरिएको थियो । निर्माण भएको भवन संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख विदुर खड्काले नगर प्रमुख रमणबहादुर थापालाई हस्तान्तरण गरेका छन् । भवन हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद राजुप्रसाद श्रेष्ठले भवन निर्माण गर्नु र प्राप्त गर्नु मात्रै उपलब्धी नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानीय तहको उपलब्धी हुने बताए । भौतिक रुपमा प्राप्त गरेको अस्पताल भवनबाट यस क्षेत्रका जनताको पहुँचमा पुग्ने गरी सेवा प्रदान गर्न आवश्यक रहेको उनले औल्याए । उनले आयुर्वेद पद्धतिको उपचारमा साईड ईफेक्ट हुँदैन भन्ने मान्यता सेवाग्राहीमा रहेकाले उक्त सेवालाई थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले भवनबाट आयुर्वेदिक र आधुनिक पद्धतिबाट सेवा प्रदान गर्न सके देश कै नमुना आयुर्वेदिक औषधालय बन्नेमा विश्वास व्यक्त गरे । उनले लुम्बिनी प्रदेश कै उत्कृष्ट भौतिक संरचना बनेको भन्दै यसको सञ्चालनका लागि स्थानीय तहले मात्रै सञ्चालन गर्ने सम्भावना न्यून रहेको उल्लेख गरे । संघीय आयोजना कार्यन्वयलय इकाई रुपन्देहीका प्रमुख विदुर खड्काले आयुर्वेद पद्धतिको उपचार सेवालाई प्रश्रय दिनु पर्छ भन्ने उद्देश्यले रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण गरेकाले भवनको सही सदुपयोग गर्न स्थानीयलाई आग्रह गरे । भवन हरेक हिसाबले सुविधा सम्पन्न रहेको भन्दै उनले यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय हुन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालको आवश्यकता र बस्तुस्थिति बारे जानकारी गराउँदै रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमनप्रकाश पोखरेलले तिनै तहको सरकारबिच समन्वय गरेर यसको सञ्चालन र व्यवस्थापन गर्नु पर्ने बताए । उनले आयुर्वेद उपचार पद्धतिप्रति मानिसको जनविश्वास बढिरहेको र यसको प्रभावकारिता पनि रहेकाले यसको सञ्चालनमा निरन्तरता दिई गुणस्तरीय सेवाका लागि पहल गर्न आवश्यक रहेको औल्याए । पछिल्लो समय यस क्षेत्रका सेवाग्राहीको संख्यामा वृद्धि भई रहेको भन्दै पञ्चकर्म सहितको हरेक सेवा प्रदान गर्न सके सेवाग्राहीको संख्यामा अझै वृद्धि हुने उनले बताए ।

नवनिर्मित भवन ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले भौतिक संरचना प्राप्त गर्नु गौरवको कुरा भएपनि कार्यान्वयनका लागि चुनौती थपिएको धारणा व्यक्त गरे । सुविधा सम्पन्न भवन प्राप्त भएपनि यसको व्यवस्थापन, संरक्षण र सञ्चालनमा चुनौती रहेको उल्लेख गर्दै थापाले सबैको साथ र सहयोगबाट मात्र आफुहरु सफल हुने बताए । नगरपालिकाको आन्तरिक स्रोतको अभावले सेवा सञ्चालन गर्न गाह्रो भएपनि अस्पतालको स्तरवृद्धि गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको विकल्प नरहेको समेत उनले बताए । संघीय र प्रदेश सरकारबाट आवश्यक कर्मचारीको दरबन्दी र बजेट उपलब्ध हुन सके अस्पताल सञ्चालनमा सहज हुनेमा नगर प्रमुख थापाले विश्वास व्यक्त गरे ।

सुविधा सम्पन्न भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेकोमा संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देही र निर्माण कम्पनीलाई धन्यवाद दिंदै आयुर्वेद अस्पताल सञ्चालन र व्यवस्थापनका लागि नगरपालिका सधैं समन्वय गरेर अगाडि बढ्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । भवन शिवशक्ती कन्स्ट्रक्सन कम्पनी प्रालीले ११ करोड ३३ लाख ४९ हजार ९३ बराबरको बजेटमा निर्माण गरेको हो । कम्पनीले करिब ३ वर्षको समयावधीमा किचन, ट्वाइलेट, योगा हल, अपरेशन कक्ष, एक्सरे कक्ष, मिटिङ हल, ल्याब कक्ष, लगायतका ६८ कोठासहितको ३ तले भवन निर्माण गरिएको साईड ईन्जिनियर सुन्दर बस्यालले जानकारी दिए ।

२०१७ मा रामपुर आयुर्वेद औषधालयको रुपमा स्थापना भएको औषधालय २०२९ मा लुम्बिनी अञ्चल औषधालयको रुपमा सञ्चालनमा आएको थियो । २०४३ सालबाट राज्यको नीति अनुसार फेरि रामपुर आयुर्वेद औषधालयको रुपमा सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update