Shittalpati
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ?

हाम्रा संवाददाता
पाल्पा, बुुधबार राति घरमा आगलागी हुँदा नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते भए । आमा ८६ वर्षीया हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने डा.भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्याँस लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन । बुधबार राति घरमा ठूलो आवाजको विस्फोट सुनिए पनि ग्याँस सिलिण्डर भने पड्केको नदेखिएको प्रहरीले बताएको छ ।

डा.भण्डारीको आमाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो । सोही घटनामा घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि मुम्बई लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बइस्थित नेसनल स्किन वर्न अस्पताल लगिएको हो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृत्रिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको जनाइएको छ । उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ । घटना राति १० बजेतिरको भएको थियो । डा.भण्डारीकी आमा हरिकला खाना खाएर भान्सा कोठा बन्द गरी बैठक कोठामा आराम गरिरहेकी थिइन् । चन्द्र बाहिरै खाना खाएर निवास पुगेका थिए । घरको माथिल्लो तलामा चन्द्रका भाइ बुहारी बस्छन् । नेता भण्डारीले भाइ बुहारीलाई गेट बन्द गराएको जानकारी गराएर सुत्ने तयारीमा थिए । भाइ बुहारीले केही पड्केको जस्तो आवाज सुने । लगत्तै उनीहरू तल्लो तलामा झरे । जहाँ चन्द्र र उनकी आमा बस्छन् । भण्डारीकी भाइ बुहारी जानुका भण्डारीले भान्साको छेउमै आमा जल्दै गरेको देखिन् । भाइले अवस्था भयावह देखेपछि हारगुहार गरे ।

‘बैठक कोठाकै छेउमा चन्द्रको शरीरमा आगो दन्किरहेको थियो । उनी आमालाई बचाउ बचाउ भन्दै कराउँदै थिए । भण्डारीले आगो लाग्दा लाग्दै आफ्नो कोठामा गएर शरीर सिरकले छोपेका थिए । त्यसपछि त्यहि पल्टिएका उनकी बुहारी जानुकाले पत्रकारहरुसँग भनेकी छन् । उनका अनुुसार आमा हरिकला हरे राम हरे राम भन्दै कराउँदै थिइन् । आमाको शरीरमा आगो थियो, आमालाई छुन सकिनँ,’ जानुकाले भनिन्, ‘म त्यहाँ जाँदा आमा लडिरहनुभएको थियो । नजिकैबाट आगो निभाउन एक बाल्टिन पानी खनाए ।’ तुरुन्तै डा.भण्डारी र उनको आमालाई गाडीमा हालेर सिभिल अस्पताल लगिएको थियो । घटनास्थल हेर्दा सांसद भण्डारी र उनको आमाबाहेक घरका अन्य कुनै पनि संरचनामा आगो नलागेको बताइएको छ । धुवाँको कालो समेत भान्सामा देखिंदैन । भान्सा छिर्ने कोठाको ढोका चिरिएको छ भने भान्सा सामुन्नेको आमा सुत्ने कोठाको झ्याल र प्यासेजमा रहेको बत्तीका सिसा समेत फुटेको छ । यस्तै भान्सा नजिकै बाहिरपट्टीको सानो स्टोरको छाना उडेको छ भने ढोका पनि चर्केको छ । डाक्टरहरुका अनुसार डा.भण्डारीको शरीरको करिब ३० प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update