पाल्पा, घरमै ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका काँग्रेस नेता तथा गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार जारी छ । सांसद भण्डारीको अवस्था स्थिर रहेको र आज दुवै खुट्टाको सफल शल्यक्रिया गरिएको नेपाली काँग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् । उनका अनुसार भण्डारीको भारतको मुम्बईस्थित नेसनल बन्र्स सेन्टरमा शल्यक्रिया भएको हो । मुख्य सर्जन डा. सुनील केसवानीलाई उद्धृत गर्दै कँडेलले भण्डारीको दायाँ खुट्टामा गहिरो घाउ रहेका कारण अपरेसनमा समय लागेको बताएका छन् । कँडेलले शल्यक्रियाका लागि करिब साढे २ घण्टा लागेको बताएका छन् ।
दायाँभन्दा बायाँ खुट्टाको घाउ कम रहेको चिकित्सकले जनाएका छन् । अहिले चिकित्सकहरूले निगरानी गरिरहेको र त्यसपछि मात्र दोस्रो अपरेसन गर्ने नगर्ने भन्ने टुंगो लाग्ने चिकित्सकले बताएको कँडेलले जानकारी गराएका छन् । उनले चिकित्सको भनाईलाई उदृद्ध गर्दै भण्डारीको पछिल्लो अवस्था सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । भण्डारीका सबै पारामिटरहरू नर्मल रहेको, तर ४८ घन्टा भेन्टिलेटरमै राखिने बताइएको छ । भित्री भागको जलनको उपचारका लागि औषधि जारी राखिएको छ ।
सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि डाक्टरकै सल्लाहमा कृत्रिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो । उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।