Shittalpati
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र

सुशीला रेग्मी (रासस)
रामपुर, पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।

ओसिएमसीबाट प्रदान हुने सबै सेवा निःशुल्क रहनेछ । ओसिएमसीका लागि अस्पतालमा छुट्टै कार्यकक्ष व्यवस्थापन गरिएको हुँदा लैङ्गिक हिंसामा परेका पीडित जुनसुकै समयमा यहाँ आएर सेवा लिनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा.विजय परियारले बताए । आधारभूत सेवा लगभग पूर्ण रहेको र निकट भविष्यमा बहु–विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले हिंसाका घटना बढ्दै गरेको अवस्थामा स्वास्थ्योपचारका लागि अस्पताल आउने पीडितले एकै ठाउँबाट अब कानुनी उपचार, पुनःस्थापना लगायत सेवा पाउने बताए । ‘कतिपय पीडित अवस्थामा रहे पनि कानुनी उपचारका लागि न्यायको खोजीमा पुग्दैनन्, भित्रभित्रै हिंसाका सिकार भएर बस्न बाध्य छन्’, उनले भने, ‘अब उनीहरुलाई स्वास्थ्योपचार, कानुनी उपचारदेखि पुनःस्थापनाका कुरा एकै ठाउँबाट सेवा दिनका लागि यो सेवाको सुरुआत गरेका छौँ । ’अस्पतालको बन्दै गरेको नयाँ भवनमा छुट्टै कक्ष स्थापना गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले अस्पतालको सेवाको क्षेत्र बढाउँदै यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई ढुक्कसँग काम गर्ने वातावरण तयार पार्ने बताए । उनले पूर्वी पाल्पाको स्वास्थ्य क्षेत्रको धरोहरका रुपमा रहेको यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने बताए । महिला तथा बालबालिका विभिन्न प्रकारका लैङ्गिक हिंसाबाट प्रभावित हुने गरेका र यसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असर पर्ने गरेको छ । यस्ता समस्याको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लास्थित अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका, किशोरी तथा महिलाका लागि विभिन्न सेवा प्रदान गरिँदै आएको छ । हिंसामा परेका व्यक्तिलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रबाट हिंसापीडित वा प्रभावितको स्वास्थ्य सम्बन्धी विवरण, संकलन, परीक्षण, उपचार अभिलेखीकरण गर्ने, शारीरिक चोटपटकको उपचार तथा चिकित्साजन्य जाँच गर्ने, कानुनी प्रमाणका लागि विधि विज्ञान तथा चिकित्सासम्बन्धी कानुनी परीक्षण गर्ने/गराउने, कानुनी परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलब्ध हुने छन् । यौनजन्य संक्रमणको उपचार गर्ने, एचआइभी जाँच तथा परामर्श सेवा उपलब्ध गराउने, मानसिक स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने, हेपाटाइटिस ‘बी’ बाट बचावट गर्ने लगायतका स्वास्थ्य सम्बन्धी सेवाहरु छन् । सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने, लैङ्गिक हिंसापीडित वा प्रभावितको पहिचान तथा उपचारका लागि तयार गरिएको क्लिनिकल प्रोटोकलअनुसार सेवा उपलब्ध गराउने, आवश्यकता अनुसारको प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने, लैङ्गिक हिंसापीडित वा प्रभावितलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, आवश्यकताका आधारमा पीडकलाई समेत मनोसामाजिक विमर्श/परामर्श सेवा उपलब्ध गराइनेछ ।

सुरक्षा लैङ्गिक हिंसाबाट पीडित वा प्रभावित महिला तथा बालबालिकाका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिन जिल्ला प्रहरी कार्यालयले आवश्यक सुरक्षाको व्यवस्था मिलाउने गरी एकद्वार संकट व्यवस्थापन केन्द्र, सेवा केन्द्र, पुनःस्थापना केन्द्र र समुदायमा समेत लैङ्गिक हिंसाबाट प्रभावितको सुरक्षा प्रदान गर्ने गरी सो सेवा प्रदान गरिनेछ । उनीहरुसँग सम्बन्धित सूचनाको गोपनीयता कायम गर्ने गरी हिंसापीडित वा प्रभावित महिला तथा बालबालिकाका लागि सामुदायिक सेवा केन्द्र एवं सुरक्षित आवासमा बस्ने सेवाका लागि सम्प्रेषण गर्ने, प्रभावितले आवश्यकता अनुसारको सेवा उक्त सामुदायिक सेवा केन्द्र तथा सुरक्षित आवासबाट प्राप्त गर्न सक्दछन् । कानुनी परामर्श र उपचार आवश्यकता अनुसार जिल्ला न्यायाधिवक्ता तथा कानुनी सहायता केन्द्र/कानुनी परामर्शदाताको सहयोगबाट लैङ्गिक हिंसापीडित वा प्रभावितका लागि कानुनी उपचारका लागि आवश्यक सेवा प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update