पाल्पा, बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।
श्रीमति कोपिला सुवेदीसँगै शुक्रबार ससुराली गएका उनी शनिबार बेलुका खाना खाई सकुुशल सुतेका थिए । आइतबार विहान श्रीमतिले चिया खानाको लागि उठाउन जाँदा सुवेदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका –४ भारकोटमै घर भएका सुुवेदी विगत १० वर्षदेखि बुटवलको नयाँ गाउँमा बस्दै आएका थिए । महाशिवरात्रि पर्व मनाउन उनी फागुन ५ गते ससुराली भारकोट पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमका लागि तानसेनस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।