Shittalpati
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन

रामचन्द्र रायमाझी
पाल्पा, हरेक वर्षको फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ । आइतबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने कोही पनि तयार देखिँदैनन् । जसका कारण अहिले पनि प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन सकेको छैन । बरु दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ ।

२००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरे पनि त्यसलगत्तै दलहरूमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन । त्यसयता प्रजातन्त्र गुम्ने र पुनस्र्थापित हुने क्रम चलिरÞयो । प्रजातन्त्र स्थापना भएको ७३ वर्ष हुँदासम्म पनि दलहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन सकेका छैन । आइतबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २००७ सालको जनक्रान्तिको स्मरण गर्दै प्रजातन्त्रले नेपालको लोकतन्त्र र नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराएको बताएका छन् । उनले संविधानको प्रगतिशील कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको भन्दै ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्ने जोड दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि २००७ साल फागुन ७ को क्रान्ति नै संघीयता र गणतन्त्र सम्मको यात्राको जननी भएको बताएका छन् । उनले फागुन ७ मा काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनको रुपमा स्मरण गर्दै त्यो ऐतिहासिक दिनमा सहिदहरूको त्याग र बलिदानको स्मरण र शुभकामना व्यक्त गरेका छन् ।

प्रचण्ड र देउवाले मात्र होइन विभिन्न राजनीतिक दलका नेताहरुले समेत प्रजातन्त्रको योगदानको स्मरण गरेका छन् । तर भाषणमा प्रजातन्त्रको स्मरण गरिए पनि व्यवहारमा भने कसैले पनि उतार्न सकेका छैनन् । नेताहरुले भाषणमा भनेझैं यतिबेला लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने बेला हो । त्यो भनेको बृहत्तर दलीय सहमतिको आधारमा मुलुकलाई स्थायित्व र विकासको बाटोमा लैजाने हो । तर, यो प्रतिबद्धता व्यक्त गरेर मात्र हुँदैन, यसलाई व्यवहारमा कार्यान्वयन गर्नेतर्फ दलहरूले इमानदार प्रयत्न गर्न आवश्यक छ । त्यसो भयो भने प्रजातान्त्रिक योद्धाहरूको सपना पूरा हुनुका साथै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

एक सय चारवर्षे राणाशासन अन्त्य भई २००७ मा पहिलोपटक मुलुकमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजालाई नागरिक बनाउने अठोटसहित संघर्षमा होमिएकामध्ये शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले ज्यानको वलिदानी दिएका थिए । तर यतिबेला राजनीतिक दलका शीर्षनेताले व्यक्तिगत हित र उन्नतिलाई मात्र प्रजातन्त्र सम्झी नागरिक हित र उनीहरूप्रतिको दायित्वलाई पूरै तिरस्कार गरी प्रजातन्त्रकै खोल ओडिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update