पाल्पा, आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । नेपालमा तमु ल्होछार, तोला ल्होछार, सोनाम ल्होछार र ग्याल्पो ल्होछार गरी विभिन्न समुदायले ल्होछार मनाउने गर्दछन् ।
बौद्ध धर्म अन्तर्गत महायानी सम्प्रदायमा तिथिमिति परिवर्तन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु ल्होछार हो । ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भन्नाले परिवर्तन भन्ने अर्थले ल्होछार शब्दको उत्पत्ति भएको तथ्य छ । हिमाली, पहाडी तथा तराईमा रहेका समुदायहरुले विभिन्न तिथिमितिमा मान्ने ल्होछार शब्दले तिब्बती वा तामाङ भाषामा नयाँ वर्षको अर्थ दिन्छ ।
प्राचीन समयमा चिनियाँ सभ्यतामा विकास भएको चिनियाँ ज्योतिष परम्परामा वर्ष गणना पद्दतिमा आधारित रहेको चन्द्रगति अनुसारको (लुनार क्यालेण्डर) पात्रोमा आधारित नयाँ वर्ष हो । अन्य पात्रोमा जस्तै ल्होछार परम्परामा पनि बार, महिना, शुभ, अशुभ आदि आफ्नै मौलिक तरिकाले तय गरिने चलन हुन्छ ।