पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले विकासलाई उद्यम र व्यवसायसँग जोडनुपर्ने बताएका छन् । पाल्पाको रामपुरमा भएको महोत्सवको समापनलाई सम्बोधन गर्दै उद्योगपति समेत रहेका उनले विकास सँगसगै आर्थिक क्रान्ति अहिलेको आवश्यकता रहेकाले विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्ने बताएका हुन् ।
राजनीतिलाई विकाससँग र विकासलाई उद्यम र व्यवसायसँंग जोड्न सकिएको खण्डमा देशमा आर्थिक क्रान्ति हुुनेमा नेता चौधरीले जोड दिए । उनले भने ‘राजनीति र विकाससँगसँगै अगाडि बढाउनुपर्छ, यसो भयो भने मात्र देशमा आर्थिक समृद्धि ल्याउन सकिन्छ ।’ नेपालमा साधनको अभाव नभई सोंच र व्यवस्थापनको अभाव रहेको चौधरीले धारणा व्यक्त गरे । विश्वका मुलुकहरु राजनीतिक परिवर्तनमार्फत विकासलाई गति दिएर नै समृद्धि हासिल गरेको भन्दै उनले विकासलाई उद्यम र व्यवसायमा जोड्न सबैलाई आग्रह गरे ।
विगतको तुलनामा टेक्नोलोजिले अहिले धेरै सहज बनाएको स्मरण गराउँदै चौधरीले भने, ‘विश्वभर छरिएर बसेका नेपालीको सपना यहाँको सम्भावनासँग टेक्नोलोजिको माध्यम मार्फत जोड्न सकिन्छ । त्यसैले नेपालको राजनीति विकास र युवा केन्द्रित हुनै पर्छ ।’ नेता चौधरीले नेपालमा आर्थिक क्रान्तिको नेतृत्व अब नेपाली काँग्रेसले मात्रै गर्न सक्ने दावि समेत गरे ।
नेपालका ठूला–ठूला राजनीतिक क्रान्तिको नेतृत्व समेत काँग्रेसले नै गरेकाले अबको आर्थिक क्रान्तिको नेतृत्व पनि काँग्रेसले नै लिने उनले बताए । उनले ‘नेपालका ठूला ठूला राजनीति क्रान्तिको नेतृत्व काँग्रेसले ग¥यो, अबको आर्थिक क्रान्तिको जिम्मेवारी पनि काँग्रेसले नै लिन्छ ।’ सबै राजनीतिक पार्टीहरुलाई मिलाएर देशको आर्थिक विकासमा लैजानु अहिलेको आवश्यकता रहेको चौधरीले औल्याए ।