पाल्पा, निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
फागुन १ गतेदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको स्कूलले बुधबार एक औपचारिक समारोहकाबिच समापन गरेको छ । समापन कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य खेम सारुले निजी तवरबाट सञ्चालन भएको विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले २३ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले शैक्षिक गुणस्तर वृद्धि गर्ने र शिक्षालाई थप प्राविधिकमैत्री बनाउने दिशामा ध्यान दिन विद्यालयलाई आग्रह गरे । प्याब्सन पाल्पाका पूर्व अध्यक्ष समेत रहेका सारुले संस्कार सहितको व्यवसायिक र प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले स्कूूलले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । सारुले नीजि विद्यालयहरुको शैक्षिक गुणस्तरमा आफुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाका अध्यक्ष महेशमान बज्रचार्यले सरकारले निजी क्षेत्रका विद्यालयहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रका विद्यालयहरुले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए पनि सरकारले त्यसको मूल्याड्ढन गर्न नसकेको बताए । प्याब्सन पाल्पाका निवर्तमान अध्यक्ष भरत न्यौपानेले निजी विद्यालयहरुले शैक्षिक गुणस्तर दिन सफल भए पनि सरकारले उनीहरुप्रति हेर्ने दृष्टिकोण सौताको जस्तो रहेको आरोप लगाए । उनले सरकारी र निजी विद्यालयलाई सरकारले गर्ने व्यवहार फरक भएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले आगामी दिनमा अब्बल जनशक्ति उत्पादन गर्ने दिशामा आफुहरु लागेको बताए । सबैको सहयोग र साथका कारण नै विद्यालय जिल्लाको अब्बल शैक्षिक संस्थाको रुपमा अगाडि भन्दै उनले सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा तानसेन –३ का वडाध्यक्ष बाबुरत्न शाक्य, तानसेन –१ का वडाध्यक्ष सुनिल बस्याल, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, विद्यार्थी सियसी सारु, पूर्व विद्यार्थी प्रियङ्का कुंवर लगायतले पाल्पाको शैक्षिक क्षेत्रमा विद्यालयले पुर्याएको योगदान प्रशसनिय रहेको भन्दै विद्यालयको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई आगामी दिनमा थप गुणस्तरीय, प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले विद्यालयलाई लुम्बिनी क्षेत्रकै नमूना विद्यालय बनाउने गरी आफुहरु अगाडि बढेको धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यालय तहमा उत्कृष्ट हुने, विभिन्न विद्याका कार्यक्रमहरुमा सफल हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, सञ्चालक समितिका सदस्य बामदेव बस्यालको स्वागत, विद्यार्थीहरु ढाका कुंवर र केकी बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । विद्यालयले वार्षिक उत्सवको अवसरमा विविध खेलकूद कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेको थियो ।
स्कूलले २३ औं वार्षिकोत्सव मनाएसँगै रजत महोत्सवको बाटो तय गरेको छ । दुई दशक लामो यात्रामा प्यारागनले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका पुरस्कारहरु समेत हात पारेको छ । उसले विद्यार्थीहरुलाई किताबी ज्ञानमामात्र सिमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाएको छ । प्रयोगात्मक शिक्षालाई अंगाल्दै अगाडि बढेको स्कूलले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकूदमा विद्यार्थीहरुलाई सहभागी बनाएको छ । यहाँका विद्यार्थीहरुले राष्ट्रियस्तरका खेलकुदहरुमा विभिन्न पदकहरु पाउन सफल भएका छन् । एसईईमा समेत जिल्लामै उत्कृष्ट नतिजा दिन स्कूल सफल भएको छ ।