Shittalpati
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव

पाल्पा, तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो । वार्षिककोत्सव समारोहलाई पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले सम्बोधन गर्दै विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले सामुदायिक विद्यालयको रुपमा स्थापित विद्यालयले ६७ वर्षे लामो यात्रा तय गर्नु चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु प्रशसंनिय रहेको बताए । प्रमुख अतिथि समेत रहेका उनले शैक्षिक गुणस्तर वृद्धि गर्ने र शिक्षालाई थप प्राविधिकमैत्री बनाउने दिशामा ध्यान दिन विद्यालयलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश सदस्य तथा पूर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विद्यालय स्थापनाको ६७ वर्षसम्म आईपुग्दा शिक्षा क्षेत्रमा विद्यालयले देशका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तित्व उत्पादन गरेको भन्दै उच्च प्रशंसा गरे । उनले संस्कार सहितको व्यवसायिक र प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले विद्यालयले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सांसद रानाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा प्रदेश सरकारले समेत ध्यान दिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पोखरेलले आगामी दिनमा अब्बल जनशक्ति उत्पादन गर्ने दिशामा आफुहरु लागेको बताए । सबैको सहयोग र साथका कारण नै विद्यालय जिल्लाको अब्बल शैक्षिक संस्थाको रुपमा अगाडि बढेको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने, त्रिभूवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंकप्रसाद भट्टराई, तानसेन–७ का वडाध्यक्ष प्रदीप खनाल, ९ का वडाध्यक्ष राजेश कुमार अर्याल, पूर्व वडाध्यक्ष मुक्तिराम जिसी, सुनवल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव भट्टराई, विद्यालयका पूर्व प्रअ पशुपति भट्टराई, सारदा माविका प्रअ खेमराज न्यौपाने, पाल्पा टेक्निकल कलेजका प्रिन्सिपल त्रिलोचन पौड्याल, लायन्स क्लव अफ पाल्पा विपनाका अध्यक्ष मोहनलाल कार्की, रोटरी क्लव अफ पाल्पा लुम्बिनीका सचिव मुक्तिराम भूषाल, बाल क्लवका अध्यक्ष सुदीक्षा ज्ञवाली लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राधानाध्यापक शंकर पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई आगामी दिनमा थप गुणस्तरीय, प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले विद्यालयलाई प्रदेशकै नमूना विद्यालय बनाउने गरी आफुहरु अगाडि बढेको धारणा व्यक्त गरे । १३ जना विद्यार्थीबाट विद्यालय स्थापना गरिएकोमा हाल ३ सय ५९ पु¥याईएको प्रअ पौडेलले बताए । उनले २ कारोड २९ लाख ९७ हजार ७ सय ४ बराबरको आयव्यय समेत प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थी, पूर्व प्रअ, लामो समयसम्म सेवा गरेका शिक्षक र अक्षकोषदाताहरुलाई सम्मान समेत गरेको छ । उसले उत्कृष्ट हुने कक्षा १० की सुदीक्षा ज्ञवाली, कक्षा ९ का मनिष कंडेल, एसईईमा उत्कृष्ट भुवन खनाल, आशिका विक, विनिता क्षेत्री, गीता मिदुन, अनिता प्रिति, विष्णु भूषाललाई सम्मान गरेको हो । यस्तै पूर्व प्रअ पशुपति भट्टराई, गंगाराम पौडेल, रामजीप्रसाद नेपाल, दीर्घ सेवा सम्मानबाट रेनुका देवकोटा, दश वर्षभन्दा माथि सेवा गरेका प्रअ शंकरप्रसाद पौडेल, शिक्षक नारायणप्रसाद अधिकारी, कार्यालय सहायक रुपबहादुर थापा,कार्यालय सहयोगी सुकदेव भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयले कक्षा ११ सञ्चालन र पठनपाठनमा सहयोग गरेका सहायक प्रअ धनकला गाहा, शिक्षक कमल पौडेल, गीता मिदुन र विष्णु भूषाललाई समेत सम्मान गरेको छ । सोही अवसरमा विद्यालयका पूर्व अध्यक्ष जनकबहादुर गाहा र धनकला गाहाले स्वर्गीय पिता टंकबहादुर गाहा र माता विष्णुकुमारी गाहाको स्मृतिमा अक्षयकोष स्थापना गरिदिएका छन् । यस्तै अभिभावक संघका अध्यक्ष ओमबहादुर विक, प्रेमा जिसी र उमा जिसीले समेत विभिन्न क्षेत्रका लागि अक्षयकोष स्थापना गरिदिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षता, सहायक प्रअ धनकला गाहाको स्वागत सहायक प्रअ नरेन्द्रप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update