पाल्पा, तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले दुर्घटना बीमा बापतको भुक्तानी रकम पाएका छन् । नेको इन्सुरेन्स लिमिटेड तानसेन शाखाले यहाँका दुई जना विद्यार्थीको दुर्घटना बीमा बापतको २७ हजार रकम भुक्तानी गरेको हो । स्कूलको २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विद्यालय मार्फत विद्यार्थीका अभिभावकलाई भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
दुर्घटनामा परी घाइते भएका युवराज घिमिरे र अनुष कुंवरले दुर्घटना बीमा बापतको रकम पाएका हुन् । उनीहरुको उपचारमा लागेको खर्चबापत कागजी प्रक्रिया पुरा गरी दावी रकम भुक्तानी उपलब्ध गराइएको स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीे बताए । उनका अनुसार विद्यार्थी घिमिरेलाई २५ हजार र कुंवरलाई २ हजार बीमा दावी रकम भुक्तानी गरिएको हो । स्कूलले २०७५ सालदेखि दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गर्न विद्यार्थीहरुको दुर्घटना बीमा गरिदिदै आएको छ । अहिलेसम्म २० जना विद्यार्थीहरुले बीमा दावी बापतको भुक्तानी पाइसकेका छन् । हाल स्कूलमा अध्ययनरत ३ सय जना विद्यार्थीहरुको दुर्घटना बिमा गरिएको छ ।
विद्यालय क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा विद्यार्थीहरु दुर्घटना हुन सक्ने पक्षलाई ध्यानमा राखी सम्पूर्ण विद्यार्थीहरुको बीमा गरिदिएको प्रिसिन्सपल खत्रीले बताए । बालबालिका दुर्घटना हुँदा अभिभावकमा पैसाको अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पुर्याएको छ । दुर्घटना पछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमाले महत्वपूर्ण टेवा पुगेको अभिभावकहरु बताउँछन् । आर्थिक अभावमा सामान्य दुर्घटनाका कारण बालबालिकालाई उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ दुर्घटना बीमा गरिदिएको स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले बताए । स्कूल व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको थियो । उसले अहिले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउदै आएको छ ।