पाल्पा, नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो ।
सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य सचिवालय बैठकले गरेको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोड्न लागेको हो । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो ।