Shittalpati
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू

पाल्पा, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ ।

यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । सो निर्वाचनमा सरकार, सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लागू हुनेछ । निर्वाचन आचार संहिताको पालना गरी निर्वाचनको स्रुवच्छता र विश्वासनीयता कायम गर्न आयोगले सबैमा अपिल समेत गरेको छ ।

‘निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्नु सम्बद्ध सबै पक्षको दायित्व र जिम्मेवारी हो,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ, ‘कानूनी आधार र प्रावधानसहितको नैतिक बन्धनको रूपमा रहेको आचारसंहिताको पालना गरी संघीय संसद र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलका सबै मतदाताहरूको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्न तथा निर्वाचनको निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन नपाउने गरी निर्वाचन सम्पन्न गर्ने आयोगको सत्प्रयासमा सबै क्षेत्रबाट सहयोग हुन आयोग हार्दिक अपिल गर्दछ ।’ कसंवैधानिक व्यवस्थाअनुसार निर्वाचनका लागि संघीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेका छन् । राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता भइसकेको छ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update