पाल्पा, राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरु भोग माग्नमै व्यस्त छन् । यही फागुन २५ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।
काँग्रेसका पौडेलले सबै राजनीतिक दलहका नेताहरुलाई भेटेर आफुलाई मत दिन आग्रह गरिरहेका छन् । उनले एमाले, राप्रपा, रास्वपा, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्त पार्टी र जनमोर्चासहितका दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । उता एमालेका नेता नेम्वाङले पनि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्त पार्टी, जनमोर्चा राप्रपा, रास्वपासहितका नेताहरुलाई दिनहुँ भेटिरहकेका छन् ।
काँग्रेसले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न विभिन्न दलका नेताहरुसँग भेटघाट कार्यक्रम गरिरहेको छ । उसले प्रदेश सांसदहरुलाई समेत आफ्नो पक्षमा मत हाल्न आग्रह गर्दै आएको छ । काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवाद, लोसपा, नागरिक उन्मुक्त पार्टी र जनमोर्चा सहितको नयाँ गठबन्धन बनेपछि राजनीतिक समीकरण फेरिएको छ । यसको असर राष्ट्रपति निर्वाचनामा पर्ने भएको छ । सरकारमा पनि असर परेका कारण एमाले, राप्रपा, रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । एमालेले संघीय संसदमा प्रतिनिधित्व गरेका काँग्रेसबाहेकका दलहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा नेम्वाङको पक्षमा भोट मागेको छ । काँग्रेसले पनि एमालेसहित १३ दललाई पत्र पठाएर राष्ट्रपति पौडेललाई मतदान गर्न आग्रह गरेको छ । गठबन्धनमा रहेका आठ दलसँग राष्ट्रपति निर्वाचित हुन आवश्यक पर्नेभन्दा पाँच हजार बढी मत छ । अहिले एमाले उम्मेदवार नेम्वाङको पक्षमा उनको पार्टी मात्र देखिएको छ । यस आधारमा निर्वाचनमा पौडेल विजयी हुनेमा त्यति शंका छैन । संवैधानिक व्यवस्था अनुसार निर्वाचनका लागि संघीय संसद् हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेका छन् ।