Shittalpati
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर

गुल्मी, जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

चौराहा हस्पिटल प्रालि बुटवल र गुल्मी अस्पतालको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर सरकारले जनाएको छ । शिविरमा न्यूरो स्पाइन सर्जरी तथा जनरल ल्याप्रोस्कोपी, हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, छाला तथा चर्म, मानसिक तथा नशा, बाल रोग, जनरल फिजिसीयन, मुटु रोग (ईसिजी) सेवा दिइएको थियो । त्यस्तै ओएनएफ एस (मुख स्वास्थ्य सम्बन्धी), भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया कृटीकल, फिजियोथेरापी पुर्नस्थापना लगायतका सेवा प्रदान गरिएको पनि नगर सरकारले जनाएको छ । घर छेउमै उपचार गर्न पाउँदा विरामीहरु उत्साहित भएका थिए । सेवा लिन पाल्पा, बुटवल, काठमाडौं पुग्नु पर्ने बाध्यतामा रहेका यहाँका नागरिक घर ठाउँमै सेवा लिन पाउँदा खुसी देखिन्थे ।

शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता भएको भन्दै आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गर्दै जाने बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update