Shittalpati
हराउँदै पाल्पामा फागु नाचको मौलिकता

कृष्ण पोखरेल
पाल्पा, के बुढापाका, के युवा, के बालबालिका, बिच बिचमा महिलाहरु सबै जना रमाएर रंगको होली खेल्दै रमाउँदै घर–घर चोक– चोक मन्दिर, मन्दिरमा नाचिने फागु नाचको मौलिकता पाल्पामा हराउँदै गएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानसहित ८ वटै वडामा विशेष रुपले नाँचिने फागु नाच वडा नंं १ को ख्याहामा बाहेक अन्य ७ वटा वडामा यस बर्ष रौनक देखिएन । रिब्दीकोट गाउँपालिका र भैरव मन्दिर पाल्पाले विगतका बर्षहरुमा फागु नाँचलाई उत्सवको रुपमा मनाउँदै आएपनि यस बर्ष चासो देखाएन् । दुबै संस्थाले चासो नदिदा विगतमा फागु उत्सवको तयारीमा जुट्ने युवा बालबालिका बुढापाकाहरु निरास देखिएका छन् । फागु नाचमा रंग अविर खेल्दै रामायण, कृष्ण चरित्र, पाल्पाको ऐतिहासिकता, भैरव मन्दिरको गाथा, कृष्ण गोपीनीहरुको रस लिला, श्रृङ्गारीक रसका भाव प्रयोगले बुढापाका देखी युवायुवती बालबालिकाहरु रमाईलो गर्दै सहभागीता देखिन्थ्यो । उत्साह थपेको थियो । भजन तथा चुटको तालमा श्रृङ्गारिक भावहरु प्रयोग गर्दै ढोलक, दमाहा, ट्याकुली टेम्को साथमा फागु नाचमा एक आपसमा रंग, अविर दली रमाईलो गर्ने प्रचलन रहँदै आएको छ ।

विगतका बर्षहरुमा कोरोना सक्रमण कालमा पनि रिब्दिकोट गाउँपालिका भित्रका ८ वटै वडा बाट विभिन्न समुह बनाएर परम्परागत फागु जात्रा निकालिएको थियो । रिव्दिकोट गाउँपालिका भित्र परम्परागत रुपमा आ–आफ्नो शैलीमा बसन्त पञ्चमीदेखी नै टोल बस्तीमा फागु पुर्णिमाको भोली पल्ट सम्म धुमधामका साथ फागु खेल्ने प्रचलन रहे पनि यसपालि वडा नंं १ ख्याहामा मात्र परम्परा फागु नाच जोगाईएको छ । ख्याहामा बुढापाका, युवा बालबालिकाले समुह बनाएर बाजा बजाउँदै नाच्दै फागु नाचको तयारीमा जुटेको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । फागु नाच हाम्रो संस्कृती र पहिचान भएकोले जर्गेनाको लागि वडाबाट आवश्यक सहयोग रहने वडा अध्यक्ष पोखरेलले बताए ।

पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमबाट शुरु भएको परम्परागत ऐतिहासिक फागुमा विभिन्न किसिमका भजन कृर्तन गर्दै भैरव मन्दिर पुगी विसर्जन गर्ने प्रचलन रहेको छ । कोरोनाको जोखिम हुँदा हँुदै पनि माक्स लगाएर बालबालिकादेखी वृद्धसम्म सामुहिक रुपमा फागु खेली भैरवमन्दिरमा पु¥याई विसर्जन गर्ने परम्परा विगतमा रहे पनि यस बर्ष मौलिक संस्कृतिले निरन्तरता नपाएकोमा आफु दुःखी रहेको भैरव मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तुलबहादुर अधिकारीले बताए । विगतका बर्षहरुमा वडा गाउँपालिकाबाट बजेट सहयोग हुन्थ्यो र नपुग रकम मन्दिरको राखी फागुउत्सव गर्दै आएपनि, यसपटक पालिका र वडाबाट समेत फागु उत्सवका लागि कुनै बजेट नआएको र अख्तियारले पनि कार्यविधी नबनाईकन कुनै उत्सव महोत्सवमा रकम खर्च नगर्नु भनि आग्रह गरेकोले यस बर्ष फागु महोत्सव गर्न नसकिएको भैरव मन्दिर व्यवस्थापन समितिमा अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

विगतका बर्षहरुमा परम्परागत फागु नाच हेर्न पाल्पाको हार्थाेकदेखी भैरवस्थान मन्दिरको २ किलोमिटर क्षेत्रमा मानिसको भिडभाड लाग्ने गरेकोमा यस बर्ष फागु नाचको कुनै तयारी नरहेको स्थानीयवासीहरुले बताएका छन्् । विशेष गरी रिब्दिकोट क्षेत्र भित्र फागु जात्रा पाल्पाको परम्परागत ऐतिहासिक फागु नाचको संस्कृतिलाई जीवन्त राख्नका लागि गाउँपालिका बाटै बजेट विनियोजन गर्नुपर्ने पाल्पाका संस्कृतीकर्मीहरुले जोड दिएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update