Shittalpati
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि

सीमा भट्टराई
पाल्पा, प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाइन्छ । आज र भोलि हर्षोल्लासका साथ यो पर्व मनाइदैंछ । पहाडमा आज होली मनाइने भएपनि तराईका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने गर्दछ । नेपाल, भारत र अन्य राष्ट्रका पनि हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम् भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ ।

हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ । साथै, यो चाडले वसन्त ऋतुको आगमनको संकेत गर्छ । फागुन शुक्ल अष्टमीका दिन तानसेनको टक्सार टोल र काठमाडौँको बसन्तपुर दरबारअगाडि चिर–विशेष रूपले सजाएको लिङ्गो गाडेपछि होली सुरु भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चिर–लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । होली रंगहरूको चाड हो । होलीका दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक–अर्कालाई रंगीन बनाउँछन् । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।

यो चाडमा विशेष गरी थकालीहरू रङ्गी बिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने गर्दछन् । आज पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाउँदै छन् । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । तर पछिल्लो समय पर्वका नाममा होली खेल्न मन नहुने वा होली नखेलेका व्यक्तिलाई जबर्जस्ती रंग लगाइदिने गरिन्छ । यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय पाल्पाले भने सबैमा अनुुरोध गरेको छ । उसले होलीका अवसरमा लोला हान्ने, पानी छ्याप्ने, जथाभावी रंग दल्ने, बाटोमा ढुकेर बाटो हिड्नेहरुलाई रंग लगाईदिने, सडक अवरोध गरेर सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्य नगर्न अनुरोध गरेको छ । प्रशासनले सूचना निकालेर यति कोही कतै अराजक गतिविधि गरेको पाइएमा कानुनी कारवाही गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update