Shittalpati
चैतदेखि ब्याजदर घटाउँदै बैंक

पाल्पा, आगामी चैत्रदेखि व्याजदर घट्ने भएको छ । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैत १ गतेदेखि कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघले जनाएको छ । बैंकहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित रहेको छन् । हाल बैंकहरुले साधारण बचतमा ६.४२ देखि ८.४२ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । अब यो दर घटेर ६ देखि ८ प्रतिशत कायम हुनेछ ।

यस्तै कल निक्षेपमा बैंकहरूले ३.२१ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए । यसलाई घटाएर ३ प्रतिशतमा झारिएको छ । यस्तै, अब वाणिज्य बैंकहरुले ऋणको ब्याज तय गर्दा आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम जोड्न पाउने निर्णय पनि संघले गरेको छ । यसअघि ५ प्रतिशतभन्दा धेरै प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका बैंकहरुले चैत देखि घटाएर ५ प्रतिशतमा झार्ने संघले जनाएको छ । मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संघ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स संघले सामान्य अंकले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् । यो निर्णयले खासगरी साना ऋणीलाई लाभ पुग्ने संघको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update