पाल्पा, नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा सांसद निमा गिरी नियुक्त भएकी छिन् । लुम्बिनी प्रदेश सभाको नेपाली काँग्रेस दलको तर्फबाट सांसद गिरीलाई कांग्रेसको सचेतक पदमा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्ती गरेका हुन् ।
नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको सह–महामन्त्री समेत रहेकी गिरी गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकबाट प्रदेश सांसदमा निर्वाचित भएकी हुन् । विसं २०५४ मा नेविसंघको बाल सदस्यता लिएर त्यस समय देखि नै विद्यालय तहको संघ संगठनमा सानै उमेरदेखि नै सक्रिय रुपमा लागेकी सांसद गिरी महेन्द्र बहुमुखी क्याम्पसको इकाई सदस्य, इकाईको सह–अध्यक्ष, दाङ जिल्लाको नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, प्युठान जिल्लाको नेविसंघ उपाध्यक्ष हुँदै त्रिभुवन विश्वविद्यालयको नेविसंघ केन्द्रिय उपाध्यक्ष, केन्द्रिय कोषाध्यक्षको उम्मेदवार बनेकी थिइन् ।
विसं २०६७ देखि तीन पटकसम्म नेपाली कांग्रेसको महासमिति सदस्य, महिला संघ प्युठानको जिल्ला सचिव हँुदै हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सह–महामन्त्री बन्न सफल एक उदाहरणिय महिला नेतृ हुन् । त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अध्ययन गर्ने क्रममा सबै दलको तर्फबाट होस्टेल क्याप्टेनमा निर्वाचित भएर उनले कुशलतापूर्वक नेतृत्व समेत समालेकी थिइन् । नेपाल सरकारको तर्फबाट जनसेवा श्री पुरस्कार समेत प्राप्त गर्न सफल भएकी छिन् ।