रासस
रामपुर (पाल्पा), उखुु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।
उनले भने, “पहिला उखुले भरिने बारी अहिले बाँझिन पुगेका छन्, हिजोआज गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो, उखु खेतीलाई प्रवद्र्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ ।” यहाँ वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवा आबद्ध छन् । रामपुरमा बर्सेनि बाहिरबाट खुदोको मात्रा धेरै भित्रिने भएकाले आयातदर घटाएर यहीँको उत्पादनले बजार थेग्ने सोचका साथ व्यावसायिक खेतीको अभियान सुरु गरेको युवा सन्तोष पौडेल बताउँछन् । उनी वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया गरी पाँच वर्षसम्म बसेर स्वदेश फर्किएका हुन् ।
“विदेशमा अर्काको अधिनमा रहेर दैनिक १२ देखि १५ घण्टा काम गर्नुपर्ने, अरुको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक÷दुई घण्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ”, उनले भने । कालीगण्डकी करिडोर सडकखण्ड नजिकै रहेको जग्गामा युवाले सामूहिक खेती सुरु गरेका हुन् । यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै करिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको युवा पिताम्बर गौतमले जानकारी दिए । उनी पनि वैदेशिक रोजगारको अनुभवपश्चात गाउँमै बसेर केही नयाँ कार्य गर्नुपर्छ भन्ने मनसाय बोकेर सामूहिक खेतीमा गाउँका युवासँग हालेमालो गरेर अगाडि बढ्दै छन् । सडक सञ्जालसँग जोडिएको हुँदा पनि नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु खपत गर्ने युवाको योजना छ । गाउँका जग्गा सदुपयोग गर्न नसक्दा त्यसै खेर गइरहेका छन् । हिजो हाम्रा बाउबाजेले उत्पादन गरेका वस्तु अहिले गाउँमा हराउन पुगेको हुँदा आफ्नै उत्पादनमा आत्मनिर्भर बन्न गाउँका युवालाई प्रेरणा दिँदै उखुखेती लगाउने अभियानमा जुटेको सुरज गौतम बताए ।
रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठूलो परिमाणमा खुदो आयात भइरहेको छ । चिनी, खुदो, गुडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ । बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्नेछ । रामपुरमा मात्रै वार्षिकरूपमा करिब रु ५० लाख बराबरको खुदो भित्रिने गरेको पाइएको छ । अहिलेलाई बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने गरी खेती सुरु गरेको कैलाश लम्सालले बताए । हाललाई करिब रु दुई लाखको लगानी बीउबिजन, मलजलमा खर्च भएको छ । व्यावसायीक खेती गरेमा उखुको उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् । व्यावसायिक खेती गर्न चाहनेलाई नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने शाखा प्रमुख पाण्डेयले बताए ।
“पछिल्लो समय बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन अतिआवश्यक रहेको छ”, उनले भने, “उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन् ।” राम्रै मलजल भएको खण्डमा कम्तीमा छदेखि आठ महिनासम्म उत्पादन दिन समय लाग्दछ । वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिने जनाइएको छ ।