Shittalpati
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह

रामचन्द्र रायमाझी
पाल्पा, स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह गरिएको छ । बुधबार स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र तानसेन नगरपालिकाले तानसेनमा आयोजना गरेको मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रममा सरोकारवालाले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदै आएको भए पनि अब स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कुँवरले मिडियाकर्मीमार्फत उपलब्ध स्वास्थ्य सेवाबारे आम नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गरी स्वास्थ्य प्रवद्र्धन सेवामा सहयोग गरिदिन पाल्पाली मिडियाहरुलाई आग्रह गरे । उनले शारीरिक, मानसिक, भावानात्मक तथा सामाजिकरुपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने बताउदै अहिलेसम्म उपचरात्मक सेवालाई जोड दिदैं आइएको भएपनि अब भने स्वास्थ्य प्रवद्र्धन सेवालाई समेत प्राथमिकता दिनुपर्ने बताए ।

अधिकृत कुंवरले अस्वस्थ जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगको भागिदार भैरहेको बताए । उनले भने ‘रोग लागेपछि उपचार खोज्दै अस्पताल पुग्ने र औषधि खानुपर्ने अवस्था आउन नदिन स्वास्थ्य सचेतनामा आम नागरिकलाई सचेत गराउनु अहिलेको आवश्यकता हो, त्यसका लागि मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहन्छ ।’ आफ्नो स्वास्थ्य कस्तो बनाउने भन्ने कुरा ८० प्रतिशत भूमिका स्वयंकै हुने भन्दै रोग लाग्नै नदिने गरी आनीबानीको विकास र शारीरिक तन्दुरुस्तीमा ध्यान दिनुपर्नेमा कुंवरले जोड दिए । उनले नागरिकहरुले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न जरुरी रहेको बताए । कुंवरले भने ‘सुगर, प्रेसर लगायतका थुप्रै दीर्घरोग कम उमेरका मानिसहरुमा पनि देखिन थालेको भन्दै शुद्ध खानपान, उचित आनीबानी, शारीरिक व्यायाम, स्वस्थ वातावरण निर्माणसहितको जीवन शैली अपनाउनु पर्छ, नागरिकहरुलाई रोगबाट जोगिन स्वास्थ्य प्रवद्र्धनका उपायबारे सचेत गराउन मिडियाकर्मीलाई आग्रह गर्छु ।’ उनले वास्तविक विकास गर्न स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताए ।स्वास्थ्य अधिकृत कुंवरले भने ‘नेता र जनप्रतिनिधिहरुको ध्यान स्वास्थ्य जस्तो संवेदनशील विषयमा कमै छ, सरकारले समेत स्वास्थ्य क्षेत्रमा अत्यन्त न्यून बजेट छुुट्याउने गरेको छ, यसो हुुनुु दुखद् हो ।’ सरोकारवाला निकायलाई स्वास्थ्य क्षेत्रमा लगानी बढाउने कुरामा घचघच्याउन उनले मिडियाकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले पछिल्लो समय नसर्ने रोगको अवस्था विकराल बन्दै गएकाले त्यसबारेमा पैरवी तथा उपचारलाई प्राथमिकता दिइएको बताए । उनले मिडिया र स्वास्थ्यकर्मीमा स्वास्थ्य प्रवद्र्धन सेवा पैरवी आवश्यक रहेको भन्दै नगर सरकारले त्यसमा विशेष ध्यान दिएको बताए । प्रमुख न्यौपानेले नगर सरकारले ६ महिनाको अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेखीय काम गरेको बताए । उनले नगरमा विभिन्न खोपहरुको अवस्था, स्वास्थ्य संस्थाहरुको अवस्था, सेवाप्रवाह लगायतका विषयमा जानकारी गराएका थिए । स्वास्थ्य शाखा प्रमुख न्यौपानेले आगामी दिनमा नगरको स्वास्थ्य क्षेत्रललाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने गरी आफुहरुले काम गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीनाले स्वास्थ्य प्रवद्र्धनका लागि मिडियाले पैरवी गर्ने बताए । उनले भने ‘हिजो पनि पाल्पाली मिडियाहरुले स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिएका थिए,भोलि पनि दिने छन् ।’ स्वास्थ्यको प्रवद्र्धनमा सम्बन्धित निकाय समेत गम्भीर बन्न उनले आग्रह गरे । कार्यक्रममा जिल्लाका पत्रकार र स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । नगरपालिका स्वास्थ्य शाखाका अधिकृत सिरबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update