Shittalpati
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।

पहिलो पटक जिल्लाको माथागढीमा किसानले पालेका गाईगोरुमा लक्षण देखापरेपछि परीक्षण गर्दा ‘लम्पी स्किन’ संक्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका सूचना अधिकारी तथा पशु चिकित्सक डा.नवीन बस्यालले बताए । ‘चैतको पहिलो हप्ता माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेका केही गाई गोरुमा यसका लक्षण देखा पर्यो र चैत १० गते परीक्षण गर्दा यो रोग भएको प्रमाणित भयो,’ उनले भने । यहाँका गाईगोरु धमाधम विरामी हुन थालेपछि पशु सेवा विज्ञ केन्द्रले पोखरा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गाईगोरुको रगत र घाउको स्याम्पल पठाएको थियो । तर त्यहाँबाट पनि थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाएकोमा ‘लम्पी स्किन’ संक्रमण पुष्टि भएको पशुचिकत्सक डा.बस्यालले बताए । उनका अनुसार माथागढीका १ सय २९ पशुचौपायको उपचार गरिएको छ । उपचारपछि धेरै गाई गोरु निको भएको र ६ वटा गोरु मरेको डा.बस्यालले बताए । अहिले यहाँ ९० प्रतिशत रोग नियन्त्रणमा आएको छ ।

माथागढीमा रोग नियन्त्रणमा आए पनि जिल्लाका बगनासकाली, निस्दी र रिब्दीकोट गाउँपालिकामा भने फैलिएको बस्यालले बताए । उनका अनुसार यी पालिकामा करिब ४ सय पशुचौपायामा संक्रमण देखिएको छ । हालसम्म माथागढीमा १ सय ५०, निस्दीमा १ सय ५०, रिब्दीकोटमा ५० र बगनासकाली गाउँपालिकामा ५० गाईगोरुमा संक्रमण देखिएको डा.बस्यालले एनजेडीलाई जानकारी दिए । ‘यी चार पालिकामा यो रोग देखापरेको छ, दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ,’ उनले भने । विशेष गरी गाई, गोरुमा यो रोग देखापरेको छ । तानसेनको दमकडा र तिनाउको कचल र सत्यवतीमा पनि गाईगोरु विरामी भएको भन्ने सुन्नमा आए पनि आधिकारिक पुष्टि नभएको पशुचिकत्सक डा.बस्यालले बताए । उनका अनुसार जिल्लामा हालसम्म ९ वटा पशु मरेका छन् । माथागढीमा ६ र रिब्दीकोटमा ३ वटा पशुचौपाया मरेका हुन् । सुरुमा किसानले थाहा नपाएर संक्रमण फैलिएको बताइएको छ । विज्ञ केन्द्रका अनुसार गाईगोरुको अवस्थाबारे गाउँपालिकाबाट बुझ्ने र त्यसपछि नियन्त्रणका लागि अन्य प्रयास थालिएको छ । जिल्लामा जानकारी दिएपछि विज्ञ केन्द्रबाट डा. बस्याल सहितको पशु स्वास्थ्य कार्यकर्ता उपचारका लागि खटिएका छन् । रोगको संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिएका छन् । यो रोग निको पार्ने कुनै खोप नभएको विज्ञ केन्द्रका डा.बस्याले बताए । ‘यसबाट ग्रसित पशुका लागि ठोस उपचार छैन । पशुको लक्षण अनुसार सामान्य एन्टिबायोटिक दिने काम सुरू गरेका छौं । बेटाडिन तथा ड्रेसिङ पनि गरिदिएका छौं,’ उनले भने ।

पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने,  र्‍याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने डा.बस्यालको भनाई छ । यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ । लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको हो । त्यसपछि चितवनमा देखापरेको यो रोग बैतडीमा पनि देखापरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update